काठमाडौं । गाडीको डिजाइन कति महत्वपूर्ण हुन्छ भन्ने कुरा धेरै भनिरहनु पर्दैन । त्यसमा पनि भारतीय मोटर ब्राण्ड टाटा, महिन्द्रा जस्ता कम्पनीले जापानी र यूरोपियन ब्राण्डसँग प्रतिस्पर्धा गर्न नसक्नुको मुख्य कारण नै डिजाइन थियो ।
सन् २०१२ अगाडि टाटाले ल्याएको प्यासेन्जर कारको डिजाइन र आजको डिजाइनमा आकाश जमिनको फरक पाउन सकिन्छ । सन् २००० भन्दा केही वर्ष अगाडि कार उत्पादनमा हात हालेको टाटाको अहिलेसम्म नफेरिएको लोगो मात्रै हो । लोगोको अलावा कम्पनीको डिजाइनमा सबैकुरा परिवर्तन भयो ।

टाटाको डिजाइन परिवर्तनको श्रेय डिजाइनर प्रताव बोसलाई दिने गरिएको छ । करिब १४ वर्ष टाटा मोटर्समा काम गरेका बोसको नेतृत्वमा टिगोर, टियागो, नेक्सन, ह्यारीयर, अल्ट्रोज, सफारी जस्ता मोडल बजारमा आए । अहिले चल्तिको माइक्रो एसयूभी पन्च बोसले टाटामा नेतृत्वमा रहेर डिजाइन गरेको अन्तिम मोडल हो ।
सन् २०२१ मा टाटा छोडेका प्रताव बोसले अर्को भारतीय ब्राण्डको डिजाइनको जिम्मेबारी लिए । जिम्मेवारी लिएको छोटो समयमा नै एक्सयूभी ७०० र स्कर्पियो एन जस्ता दुई मोडल बजारमा दिइसकेका बोसले महिन्द्राको एसयूभी डिजाइन मात्र फेरेनन्, टाटामा फेर्न नपाएको लोगो नै परिवर्तन गरे । उनको प्रस्तावलाई महिन्द्राले स्वीकार गर्यो । अब उप्रान्त महिन्द्राको एसयूभीमा टुइन पीक लोगो प्रयोग हुन थालिसकेको छ ।
उसोत धेरैलाई लाग्न सक्छ बोस भारतीय नागरिक हुन् । तर, उनि भारतको मुम्बाई सहरमा जन्मेका बेलायती नागरिक हुन् । उनको स्थाई ठेगाना लण्डन हो । कर्मभूमी भने विगतदेखि नै भारतलाई बनाइरहेका छन् ।

महिन्द्राले हिजो सोमबार बर्न ईभीको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको कन्सेप्ट निकै लोभलाग्दो देखिन्छ । महिन्द्राले दुई सब ब्राण्डमा इलेक्ट्रीक एसयूभी ल्याउने घोषणा गरेको छ । कम्पनीले एक्सयूभी.ई र बीई सब–ब्राण्डमा विद्युतीय सवारी ल्याउने घोषणा गरेको हो ।
वर्ल्ड कार पर्सन अफ दी इयर २०२१ मा छनोट भएका प्रताब बोसकै कारण महिन्द्राले आफ्नो डिजाइनमा ब्यापक परिवर्तन गर्न सफल भएको मानिन्छ । सन् १९७४ मा जन्मिएका बोस विश्व अटोमोवाइलमा उत्कृष्ट डिजाइनर सावित भइसकेका छन् । टाटाको डिजाइनमा गरेको आमूल पविर्तनपछि महिन्द्रामा आएका उनको कला नयाँ आउने ईभीहरुमा भरपुर देख्न पाइने छ ।


