काठमाडौं । इलेक्ट्रीक सवारीसाधनको भिडमा अर्को नयाँ ब्राण्ड नेपाल आएको छ । चिनियाँ इलेक्ट्रीक स्कुटर ब्राण्ड आईमाले आफ्नो तीन मोडलका स्कुटरसहित नेपाली बजारमा प्रवेश गरेको हो ।
आईमा ब्राण्डका स्कुटर हिमाल इभी मोटर्स प्रालिले नेपाल ल्याएको हो । बढ्दो पेट्रोलियम पदार्थको मूल्यको कारण विद्युतीय साधनमा आकर्षण बढ्न थालेसँगै आईमा नेपाल आएको हो ।
कम्पनीले काठमाडौंको त्रिपुरेश्वरमा आफ्नो पहिलो शोरुम संचालनमा ल्याएको छ । उक्त शोरुमबाट विक्री सुरु हुन लागेका तीन मोडलका स्कुटरको मूल्य २ लाख ७४ हजार रुपैयाँदेखि ५ लाख १५ हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ ।
सबैभन्दा सस्तो ‘माइन प्लस’
हिमाल ईभीले नेपाल ल्याएको सबैभन्दा कम मूल्य भएको माइन प्लस मोडल हो । यसको मूल्य २ लाख ७४ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु भएको कम्पनीले जनाएको छ ।
माइन प्लस मोडलमा १.२ किलोवाट क्षमताको मोटर रहेको छ । यसको पीक पावर १.७ किलोवाट रहेको छ । यसमा ६० भोल्ट २८ एम्पीयर आवरको लिथियम आयोन ब्याट्री प्याक उपलब्ध छ । यसले एक पटकको फुलचार्जमा ७० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यसको टप स्पीड ३५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
मध्यम मूल्यको एक्स-६११
आईमाले ल्याएको बीचको मूल्य भएको मोडल एक्स् ६११ हो । यसको मूल्य ४ लाख ५८ हजार रुपैयाँ रहेको छ । यसमा २ किलोवाटको मोटर रहेको छ भने यसमा ६० भोल्ट ३५ एम्पीयर आवरको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । यो स्कुटरलाई एक पटक फुलचार्ज गरेर ९० किलोमिटरसम्म गुडाउन सकिन्छ ।
यसमा डबल ब्याट्री प्रयोग गर्ने सुबिधासमेत उपलब्ध छ । दुई ब्याट्रीको प्रयोगमा यसलाई १८० किलोमिटरसम्म गुडाउन सकिन्छ । यसमा फास्ट चार्जिङ सुबिधा उपलब्ध हुनेछ । यसको टप स्पीड ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।
सबैभन्दा महंगो एक्स-६१२
कम्पनीले विक्री गर्ने सबैभन्दा धेरै मूल्यको स्कुटर एक्स ६१२ को मूल्य ५ लाख १५ हजार रुपैयाँ रहेको छ । यो स्कुटर म्याक्सी डिजाइनमा रहेको छ । यसमा ३ किलोवाटको मोटर प्रयोग भएको छ । यसमा ६० भोल्ट ३५ एम्पीयर आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ ।
यसमा पनि डबल ब्याट्री प्रयोग गर्ने सुबिधासमेत उपलब्ध छ । यसको डबल ब्याट्रीले स्कुटरलाई १६० किलोमिटरसम्म गुडाउन सकिन्छ । यसमा फास्ट चार्जिङ सुबिधा छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघन्टा रहेको छ ।


