काठमाडौं । नेपालमा चनाचट्पटे किन्दा पनि मूल्यमा वार्गेनिङ गरिरहेको हामीले सुन्ने गरेका छौं । यहाँ ५०० रुपैयाँको कपडा किन्दा होस् वा करोडौं रुपैयाँको सामान किन्दा होस्, वार्गेनिङ भइहाल्छ ।
पछिल्ला दिनमा बढ्दै गएको सुपरमार्केट कल्चरले केही मानिसलाई वार्गेनिङ गर्ने आफ्नो वानी सुधार गर्नु पर्ने बाध्यता ल्याइदिएको छ । यस्तोमा साना र सामान्य घरायसी सामान किन्दा हुने वार्गेनिङ ठूला गाडी किन्दा नहुने कुरै भएन । तर, केही ब्राण्डले ‘फिक्स प्राइस’मा गाडी विक्री सुरु गरेसँगै अन्य ब्राण्डलाई पनि यसबारे सोच्न बाध्य बनाउन थालेको छ ।
नेपालमा सबैभन्दा पहिलो ‘फिक्स प्राइस र नो स्कीम’को प्रयोग महिन्द्राले गरेको हो । अन्य ब्राण्डले दशैं तिहार लक्षित स्कीम ल्याएर लाखौं रुपैयाँ डिस्काउन बाँड्ने समयमा महिन्द्राले सर्भिस लगायतका विषयमा स्कीम ल्याएको हामीले देख्दै आएका थियौं । महिन्द्राको यही नीतिको कारण महिन्द्रा ग्राहकको घरमा होइन, ग्राहक महिन्द्राको शोरुम धाउन थाले । कालान्तरमा महिन्द्राको लागि यो वलियो अस्त्र बन्यो । अहिले पनि अग्नी इन्कर्पोरेट प्रालिले महिन्द्राको गाडीमा स्कीम दिदैन । मूल्य पनि अपरिवर्तनीय भनेको छ ।
महिन्द्रापछि यसलाई पूर्णरुपमा पालना गर्ने कम्पनी हौ भनेर दावी गर्ने जीप हो । एमएडब्लू लाइफले जीपका उत्पादन फिक्स प्राइसमा विक्री गर्दै आएको छ । कम्पनीले सिधै जीपको मूल्य घटाएर दिने गरेको छैन । कम्पनी स्रोतका अनुसार थप एशोसरीज, फाइनान्स स्कीम वा अन्य केही सामान दिने स्कीम ल्याएपनि मूल्य घटाउने कुनै किसिमको योजना अहिलेसम्म ल्याइएको छैन ।
कियाले भारतीय उत्पादन बजारमा आएसँगै फिक्स प्राइसको सिस्टम सुरु गरेको हो । कम्पनीले त्योभन्दा पहिला कोरियामा उत्पादन भएका गाडीमा डिस्काउन्ट दिने र चाडपर्वमा स्कीम ल्याउने गरेको भएपनि भारतीय उत्पादन बजारमा आएसँगै फिक्स प्राइसमा गाडी विक्री गर्दै आएको जनाएको छ । कन्टीनेन्टल ट्रेडिङले पछिल्ला २/३ वर्षमा कुनै किसिमको नगद छुट दिने स्कीमलाई प्राथमिकता नदिएको कम्पनी स्रोतले जानकारी दियो ।
थपिदै अन्य ब्राण्ड
यी बाहेक अन्य ब्राण्डले कम्बस्चन इन्जिन भएका गाडीमा फिक्स प्राइसको नीति नलिएपनि ईभीमा त्यसलाई कार्यान्वयन गर्न थालेका छन् । एमजीले जेडएस ईभी र टाटाले नेक्सन ईभीमा फिक्स प्राइस भनिरहेका छन् ।
साथै, कम्बस्चन विक्री गर्ने जीप, महिन्द्रा र कियाले ग्राहकलाई वार्षिक कर र एक वर्षको बीमा सुविधा दिए पनि ईभी विक्री गर्नेहरुले वार्षिक कर र बीमा समेत दिदैनन् ।

