कारको आयात खुल्दै, आजै मन्त्रिपरिषद्ले निर्णय लिने

काठमाडौं । विगत ५ महिनादेखि आयात प्रतिबन्ध लाग्दै आएको कारको आयात खुल्ने भएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकमा वाणिज्य मन्त्रालयको प्रस्तावमा सवारी साधनको आयात खुल्ला गर्न लागेको हो ।

लामो समयदेखि आयात प्रतिबन्ध लगाउँदा गाडी विक्रेताहरूले आफ्नो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आएको भन्दै आयात खोल्न आग्रह गर्दै आएका थिए । पछिल्लो एक हप्तामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीहरूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष र प्रधानमन्त्रीलाई भेटेरै आयात खोल्न आग्रह गरेका थिए ।

नाडाले साना कार आयातमा बाहिर जाने रकम, त्यसबाट उठ्ने राजश्व र अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा जानकारी गराएका थिए । सरकारले भन्सार राजश्व पनि गुमाएसँगै सरकार आयात खोल्न सकारात्मक भएको हो ।

‘हामीले केही वस्तुको आयात खुल्ला गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएका छौं । सायद इन्जिन क्षमताको आधारमा विस्तारै गाडीको आयात खोल्ने निर्णय हुन्छ होला’ वाणिज्य मन्त्रालय स्रोतले भन्यो ।

विदेशी मुद्रा संचितिमा ठूलो असर परेको भन्दै बैशाख १४ गतेदेखि आयात प्रतिबन्ध लागेको कारमा अब भने १५०० सीसीभन्दा कम क्षमताका जीप/कार/भ्यानको आयात खोल्न सक्ने स्रोतको दाबी छ । तर, सरकारले मूल्यको सिलिङ तोकेर आयात खुल्ला गर्ने सम्भावना पनि त्यतिकै रहेको नाडा स्रोतले बताएको छ ।

 


Back_to_top