काठमाडौं । विश्वको ७५ प्रतिशत कार विक्री हुने देशहरुमा लेफ्ट ह्याण्ड ड्राइभ सिस्टम रहेको कारण अधिकांश उत्पादकको पहिलो रोजाई लेफ्ट ह्याण्ड ड्राइभ हुने गरेको छ । त्यसैले अधिकांश कम्पनीको दोस्रो रोजाईमा राइट ह्याण्ड ड्राइभ बजार पर्ने गरेको पाइन्छ ।

यूरोपियन ब्राण्ड सिट्रोनले आफ्नो चर्चित र सफल माइक्रो इलेक्ट्रीक कार सिट्रोन एएमआईलाई बेलायती बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । झट्ट हेर्दा निकै क्यूट लाग्ने एएमआईले अन्तर्राष्ट्रिय बजारमा १४ वर्ष पुरा गरिसकेको छ ।
पहेँलो कलरको एसेन्ट प्रयोग भएको यो माइक्रो कारको ड्यासबोर्ड निकै आकर्षक रहेको छ । दुई जनाले आरामदायी यात्रा गर्न सक्ने यो कारमा केवल ८ किलोवाट पीक पावर भएको मोटर जडान भएको छ । यूरोपका धेरै देशमा यो माइक्रो कार चलाउन लाइसेन्स पनि अनिर्वाय गरिएको छैन ।

कम्पनीले यसमा ५.५ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा ७० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । यसको उच्च गति क्षमता भने ४५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
सिट्रोनका उत्पादन नेपाली बजारमा पनि विक्री वितरण सुरु भएको छ । साँग्रिला मोटर्सले सिट्रोनका उत्पादन आधिकारीक विक्रेताको रुपमा विक्री वितरण गर्दै आएको छ । माइक्रो कारलाई नेपाली बजारमा ल्याउने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।


