इलेक्ट्रीक मोटरसाइकल खोज्नेलाई ५ उत्कृष्ट मोडल (मूल्यसहित)

काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधनको माग बढ्दै जान थालेसँगै विभिन्न नयाँ नयाँ ब्राण्ड नेपाल आउने क्रम जारी छ । धेरै इलेक्ट्रीक ब्राण्ड नेपाल आएपनि अधिकांश ब्राण्डको ध्यान इलेक्ट्रीक स्कुटरमा केन्द्रित भएको पाइन्छ ।

अहिलेसम्म नेपालमा करिब तीन दर्जन इलेक्ट्रीक ब्राण्ड नेपालमा उपलब्ध भएपनि मोटरसाइकल उत्पादन र विक्री गर्ने ब्राण्ड निकै कम छन् ।

केही दिनअघि मात्रै नयाँ वान इलेक्ट्रीकको मोटरसाइकल नेपाली बजारमा सार्वजनिक भएको छ । धेरै पहिलादेखि सुपर शोकोले मोटरसाइकल विक्री गर्दै आएको छ ।

रेगुलर आईसी इन्जिन भएका मोटरसाइकल जस्तै इलेक्ट्रीक मोटरसाइकलमा पनि नेकेड कम्युटर, स्पोर्टस्, क्रुजर तथा डबल स्पोर्टस् डिजाइनमा आउन थालेका छन् । यस्तोमा नेपाली बजारमा उपलब्ध इलेक्ट्रीक मोटरसाइलको बारेमा जानकारी दिदैछौं ।

वान इलेक्ट्रीक

ह्वाइट लोटस मोटर्सले केही दिनअघि मात्रै नेपालमा सार्वजनिक गरेको वान इलेक्ट्रीकको क्रिडन मोटरसाइकल पीकपवार ५ किलोवाट क्षमताको मोटर छ । यो भनेको ७ पीएस पावर बराबर हो । यसको टप स्पीड क्षमता प्रतिघन्टा ९५ किलोमिटर रहेको छ ।

क्रिडन मोटरसाइकलमा ३ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । जसले एक पटकको फुल चार्जमा १२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यसमा रहेको ब्याट्रीलाई फुलचार्ज गर्न ५ घन्टा समय लाग्छ । यसमा तीन राइड मोड उपलब्ध रहेको छ ।

क्रिडन मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक र हाइड्रोलिक सस्पेन्सन दिइएको छ । यसमा ट्यूवलेस टायर, डिजिटल क्लस्टर, राउन्ड सेप हेडल्याम्प, डबल डिस्क ब्रेक जस्ता फिचर रहेको छ ।

कम्पनीले ३ लाख ५० हजार मूल्य तोकेर यसको विक्री सुरु गरेको हो ।

कोमाकी रेन्जर

कोमाकी रेन्जर क्रुजर डिजाइनमा बनेको मोटरसाइकल हो । यसमा ४ किलोवाटको मोटर र ८० एम्पिएरको कन्ट्रोलर राखिएको छ । यसमा ७२ भोल्ट ५० एम्पीयर क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यो मोटरसाइकल एक पटकको फुल चार्जमा १५० देखि १८० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । यसलाई फुल चार्ज गर्न पाँचदेखि ६ घण्टा लाग्छ ।

कालो, रातो र निलो गरी विभिन्न तीन फरक कलरमामा उपलब्ध यो मोटरसाइकलको मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।

यात्री पी १

नेपालमा नै बनेको चर्चित मोटरसाइकल यात्री पी १ मा १४ किलोवाट क्षमताको मोटर रहेको छ । यो मोटरसाइकलमा ३ किलोवाट आवरको लिथियमा आयन ब्याट्री उपलब्ध र भने यसलाई एकपटक फुलचार्ज गर्दा ११० किलोमिटरसम्म गुडाउन सकिन्छ । यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा छ ।

यो मोटरसाइकल एकपटक फुलचार्ज गर्न २ घन्टा समय लाग्छ । यसलाई फास्ट चार्जरबाट ४० मिनेटमा फुलचार्ज गर्न सकिन्छ ।

कम्पनीले पी वानको मूल्य ५ लाख ६५ हजार मूल्य राखेर विक्री वितरण गर्दै आएको छ । यसलाई आफ्नो आवश्यकता अनुसार फिचर थप गरेर पनि किन्न सकिन्छ ।

प्योर इभी इट्राइस्ट ३५०

प्योर इभीले केही दिन अघिमात्र नेपालमा विक्री सुरु गरेको इट्राइस्ट ३५० मा ४ किलोवाट क्षमताको मोटर तथा ३.५ किलोवाट आवरको लिथिएम आयोन ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई एक पटक फुलचार्ज गर्दा १४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

यसलाई फुलचार्ज गर्न ६ घन्टा समय लाग्छ । यसको टप स्पीड सेग्मेन्टमा नै धेरै ८५ किलोमिटर प्रतिघन्टाको रहेको छ । कम्पनीले ‘इट्राइस्ट ३५०’ इलेक्ट्रीक मोटरसाइकलको ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।

सुपर शोको टीसी म्याक्स

टीसी म्याक्स इलेक्ट्रीक मोटरसाइकलमा रेटेड पावर ३ किलोवाट र पिक पावर ५ किलोवाट क्षमताको मोटर रहेको छ । यसले १८० एनएमको अधिकतम टर्क प्रदान गर्छ ।

यसमा लिथियम पौच सेल व्याट्री दिइएको छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा छ । यसलाई एक पटक फुलचार्ज गर्न ५ देखि ६ घन्टा समय लाग्छ भने, एक पटकको फुलचार्जमा ११० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

यसको मूल्य ४ लाख ८९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top