नेपालमा पाइने कम मूल्यका तीन विद्युतीय कार, तपाईको रोजाईमा कुन ?

काठमाडौं । विद्युतीय कार महंगो टेक्नोलोजीमा बनेको कारण कम्बस्चनको तुलनामा उत्पादन लागत बढी हुन्छ । तर, नेपाल सरकारले कम्बस्चनको तुलनामा निकै कम कर लगाएको कारण मूल्य भने बजारमा कम छ ।

नेपालमा अहिले धेरै कम्पनीले साना कार ल्याएर विक्री सुरु गरेका छन् । तर, अधिकांश कार कमसल बनोट र सुरक्षामा पनि केही प्रस्ट नभएका छन् । उत्पादकले नेपाल पठाएका अधिकांश साना विद्युतीय कार परिक्षणमा पनि खरो उत्रेका छैनन् ।

साना कार ल्याएर शोरुम निर्माण नगर्ने, सर्भिस सेन्टर र स्पेयर पार्टसको ब्यवस्थापन नगर्ने ब्राण्डहरुको कारण विद्युतीय गाडीको भविष्य नै अन्योलमा जाने हो कि ? भन्ने चिन्ता धेरै मानिसमा पाइन्छ । त्यसैले नेपालमा विक्री सुरु भएका कम मूल्यका तीन कारको विषयमा यहाँ हामीले जानकारी दिने प्रयास गरेका छौं ।

हेनरी

पायोनियर वर्ल्डवाइड प्रालिले नेपाल ल्याएको इलेक्ट्रीक ह्याचव्याक ‘हेनरी’को मूल्य २३ लाख रुपैयाँ कायम गरेर विक्री सुरु भएको छ । काठमाडौंको उत्तरढोकामा शोरुम निर्माण गरेर यसको विक्री सुरु भएको छ । यद्यपि, चिनियाँ नाका बन्द रहेको कारण गाडी आउन अझै केही दिन लाग्ने कम्पनीले जनाएको छ ।

सहरी क्षेत्रको लागि उपयुक्त यो कारको लम्बाई ३३८० एमएम, चौडाई १४९९ एमएम र उचाई १६१० एमएम रहेको छ । उचाई र पछाडिको डिजाइनको आधारमा यसलाई ‘टलह्याच’ पनि भन्न सकिन्छ । कम्पनीले यसमा साइज अनुसार निकै लामो २४४० एमएमको ह्वीलवेस दिएको छ । ग्राहकले यसमा सेलेरियो वा सेन्ट्रोमा जस्तै १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सक्नेछन् ।

कम्पनीको अनुसार एक पटकको फुल चार्जमा १८५ किलोमिटर रेन्ज दिने यो कारमा १६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । अधिकतम ३५ किलोवाट क्षमताको मोटर दिइएको यो ईभीमा रियर ह्वील ड्राइभ सिस्टम उपलब्ध छ ।

अत्याधुनिक टेक्नलोजीमा आधारीत विद्युतीय गाडी भएको कारण यसमा धेरै फिचर उपलब्ध रहेका छन् । यसमा म्यानुयल ह्याण्ड ब्रेकको प्रयोग भएको छ भने इलेक्ट्रीक पावर स्टेरिङ, ७ इन्चको डिजिटल क्लष्टर, पीयु लेदर सिट, पावर विन्डो, डाइनामिक गाइड लाइन सहितको रिभर्स क्यामेरा, रिभर्स सेन्सर, १३ इन्चको आल्मुनियम ह्वील जस्ता फिचर दिइएको छ ।

यसको फ्रन्ट फेसिया फ्यूचरीस्टीक ईभी डिजाइनबाट प्रेरित रहेर तयार गरिएको छ । साथै, लुकिङ ग्लासमै दिइएको टर्न इन्डिकेटर लाइट, बडी कलर डोर ह्याण्डल, चालक सहित ४ जनाको लागि आरामदायी सिट, म्यानुयल एसी, थ्री प्वइन्ट सिट बेल्ट, एबीएस, इबीडी र हिल होल्ड एसिस्ट जस्ता फिचर छन् ।

कम्पनीले यसको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटर र मोटर लगायतका ब्याट्री म्यानेजमेन्ट सिस्टममा ३ वर्ष वा ६० हजार किलोमिटर बारेन्टी प्रदान गरेको छ ।

टाटा टिगोर ईभी

टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले टिगोर ईभी नेपालमा विक्री सुरु गरेको लामै समय भइसकेको छ । कम्पनीले ल्याएको टिगोर सेडान कारमा २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसमा रहेको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । टिगोर इभीमा ड्राइभ र स्पोर्ट गरी दुई ड्राइभिङ मोड उपलब्ध रहेको छ ।

टिगोरमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसीडी क्लष्टर, अटो एसी, सिट उचाई मिलाउन मिल्ने ड्राइभर सिट लगायतका विशेषता रहेका छन् ।

त्यस्तै, गाडीमा स्मार्ट की पुस-बटन स्टार्ट, पोर्टेबल चार्जिङ केबल पनि पाउन सकिन्छ । चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् । जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् ।

सुरक्षाको हिसाबले हेर्दा कम्पनीले यो टिगोर ईभीमा डुअल एयर ब्याग, इबीडीसहितको एबीएस, रियर पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ ।

विभिन्न तीन भेरियन्टमा उपलब्ध टिगोर ईभीको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नेटा भी

चौधरी समूह अन्तर्गतको सिजी मोटर्सले नेटा भी क्रसओभर कार विक्री गर्दै आएको छ । कम्पनीले नेपाल ल्याएको नेटा भी झट्ट हेर्दा मिनि टेस्ला जस्तै देखिन्छ । कम्पनीले नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेर विक्र गर्दै आएको छ ।

नेटा भी क्रसओभरमा कम्पनीले दशैं स्कीम पनि संचालनमा ल्याएको छ । ‘इलेक्ट्रीफाई दिस फेस्टीभ सिजन’ स्लोगन दिएर ल्याएको स्कीममा कम्पनीले १ लाख ४० हजारसम्मको स्कीम दिएको छ ।

सिजी मोटरले हरेक नेटा भी खरिद गर्ने ग्राहकलाई बीमा र एउटा ६.६ किलोवाटको चार्जर उपलब्ध गराउने जनाएको छ । यसमा अन बोर्ड चार्जर भने ३.३ किलोवाट क्षमाताको आउने छ ।

साथै, कम्पनीले लक्की ड्र मार्फत सिजीको ७५ इन्च फोर के यूएचडी स्मार्ट टिभी, मेघौली सेराईमा दुई जनालाई छुट्टी मनाउने अवसर र ५५० लिटरको सिजीको रेफ्रिजेरेटर पाउन सक्नेछन् ।

नेटा भी क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेकले यसलाई अब्बल बनाएको छ ।

कम्पनीले यसमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । सिजी मोटरले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।


Back_to_top