काठमाडौं । दशैं सुरु भएको छ । बजारमा तरलता अभाव र गाडीको सिमित उपलब्धताको कारण चहल पहल एकदमै कम छ । विशेषत महंगो ब्याजदर र आफ्नो छनोटको गाडी उपलब्ध नहुँदा गाडी किन्ने योजना बनाएका मानिस पनि पछाडि सरेका छन् ।
अहिले बजारमा गाडी बेच्दै आएका अधिकांश ब्राण्डसँग गाडी छैन । करिब ७ महिनादेखि बन्द अवस्थामा रहको एलसी अझै खुल्ला भएको छैन भने कम्पनीहरुसँग सिमित संख्यामा मात्रै गाडी रहेको कारण ग्राहकले आफ्नो छनोट अनुसारको गाडी पाउन नसकेको हो ।
गाडी अभावको कारण धेरै कम्पनीले दशैं तिहार लक्षित स्कीमसमेत ल्याएका छैनन् । थापाथली एरियामा रहेका सबै ब्राण्डका शोरुममा मानिसको उपस्थिति अत्यन्त न्यून रहेको छ ।
दशैंमा अल्ली धेरै छनोट उपलब्ध कारको हामीले सूची तयार गरेका छौं । यो सूची विक्रेता कम्पनीसँगको कुराकानीमा आधारित रहेर तयार गरिएको हो ।

१. हुन्डाईः हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिसँग अहिले कम मूल्यमा किन्न सकिने केही यूनिट अउरा, आई २० र भेन्यू उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, प्रिमियम मोडलमा टुसान र आयोनीक फाइभ पनि ग्राहकले डिलिभरी लिन सक्ने छन् ।

२. मारुती सुजुकीः मारुती सुजुकीसँग कम मूल्यमा पाइने कारमा सेलेरियो, बागेन आर र इग्नीस अहिले पनि ग्राहकले छनोट गरेर खरिद गर्न सक्नेछन् । त्यसैगरी ब्रेजा, एसक्रस जस्ता पेट्रोलबाट चल्ने एसयूभीहरु सिमित संख्यामा उपलब्ध रहेको सिजी मोटोकर्पले जनाएको छ ।

३. टाटाः टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले अहिले टियागो, टिगोर, एच फाइभ र नेक्सन गाडी उपलब्ध रहेको जनाएको छ । कम्पनीका अनुसार सिमित संख्यामा रहेका पेट्रोलबाट चल्ने कार दशैंअघि नै सोल्ड आउट हुने देखिन्छ ।

४. कियाः कियासँग तुलनात्मकरुपमा गाडी उपलब्ध गरेको छ । कन्टिनेन्टल ट्रेडिङसँग दशैंको लागि सोनेट र सेल्टोस उपलब्ध रहेको छ । कम्पनीले भदौमा काठमाडौं ल्याएको गाडी कियाले विक्री सुरु गरेको हो ।

५. जीपः अमेरिकन ब्राण्ड जीपले भारतमा उत्पादन गरेको सर्वाधिक विक्री हुने कम्पास नरहेको जनाएको छ । साथै, अमेरिकाबाट आयात भएका र्याङलर, रुवीकन, ग्लाडियटर जस्ता मोडल भने केही यूनिट एमएडब्लू लाइफले जनाएको छ ।

६. स्कोडाः स्कोडाको आधिकारीक विक्रेतासँग अहिले केही यूनिट र्यापीड र कुशक मोडल उपलब्ध रहेको छ । कम्पनीले यसको विक्री सक्न विभिन्न स्कीम दिइरहेको छ । कम्पनीले कुशक एसयूभी किन्न चाहने मानिसलाई १० लाख डाउन पेमेन्टमा नै गाडी उपलब्ध गराउँदै आएको छ ।

७. निसानः निसानको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पसँग म्याग्नाइट र किक्स मोडल उपलब्ध छैन । कम्पनीले अहिले आफुसँग केही यूनिट पीकअप र इलेक्ट्रीक लिफ मात्रै उपलब्ध रहेको जनाएको छ ।

८. टोयोटाः ठूला गाडी विक्री गर्ने कम्पनी टोयोटासँग केही यूनिट गाडी उपलब्ध रहेको छ । विशेषगरी ल्याण्डक्रुजर, प्राडो, फर्चुनर, हाइलक्स जस्ता मोडल केही यूनिट रहेको यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले जनाएको छ ।

९. फक्सवागेनः फक्सवागेनसँग पोलो, भेन्टो र टाइगुन मोडल उपलब्ध रहेको छ । त्यसैले ग्राहकलाई दशैं लक्षित केही अफर प्रदान गर्न पुजा इन्टरनेशनल नेपालले विशेष फाइनान्स योजना सार्वजनिक गरेको छ । जुन स्कीममा गाडी किन्ने ग्राकले कम व्याजदरमा कर्जा सुविधा पाउने छन् ।

१० एमजीः मोरिस ग्यारेज (एमजी)को आधिकारीक विक्रेता पारामाउन्ट मोटर्ससँग अहिले हेक्टर एसयूभी उपलब्ध रहेको छ । एमजीले भारतमा बनाएको यो एसयूभी केही यूनिट मात्रै विक्री हुन बाँकी रहेको कम्पनी स्रोतको भनाई छ ।

११. रेनोः रेनोको आधिकारीक विक्रेता एड्भान्स अटोमोवाइल्स प्रालिले विक्री गर्दै आएको क्वीड, ट्राइबर र काइगर केही यूनिट उपलब्ध रहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

