काठमाडौं । विद्युतीय कारको प्रयोगमा चीन र यूरोप बीच तिब्र प्रतिस्पर्धा देखिएको छ । तिब्र ईभीको प्रयोग गर्ने देशमा चीनमा सबैभन्दा अगाडि रहेको छ भने यूरोपले चीनलाई पच्छाई रहेको छ ।
विभिन्न कार निर्माता कम्पनीहरु बीवाइडी, फक्सवागेन, एमजी, विलिङ, चांगन, टेस्ला, जिली, डोङफेङ, हुन्डाई, किया, एक्सपीन, भिनफास्ट, फोर्ड लगायतका कम्पनीले तिब्र गतिमा विद्युतीय गाडी उत्पादन र विक्री वितरण सुरु गरेसँगै ईभीको स्विकार्यता तिब्र गतिमा बढेको हो ।
सन् २०२२ को अगस्टको विक्रीलाई आधार मान्ने हो भने चिनमा विद्युतीय कारको बजार हिस्सा ३० प्रतिशत पुगेको छ । यो संसारभर सबैभन्दा धेरै बजार हिस्सा हो । चीनपछि यूरोपमा विद्युतीय कारको बजार हिस्सा बढेको छ । यूरोपको बजार हिस्सा २१ प्रतिशत पुगेको हो ।
नेपालमा पनि विद्युतीय कारको बजार हिस्सा १० प्रतिशतभन्दा माथि पुगिसकेको छ । तर, भारतमा ३ प्रतिशत हाराहारी मात्रै ईभीको बजार हिस्सा रहेको छ भने अमेरिकामा ६ प्रतिशत बजार हिस्सा पुगेको छ । विश्वका धेरै कार विक्री हुने देशमा क्रमश चीन, अमेरिका, जापान, भारत र जर्मनी रहेका छन् ।
ब्लूमबर्गका अनुसार सन् २०३० सम्ममा अमेरिकामा विद्युतीय कारको हिस्सा करिब ५० प्रतिशत पुग्नेछ । तर, विश्व बजारमा भने सन् २०३० मा ६० प्रतिशतभन्दा बढी विद्युतीय कारको बजार हिस्सा पुग्ने छ ।
चिनियाँ ब्राण्ड बीवाइडीले सन् २०२३ मा नै ४० लाख न्यू इनर्जी भेहिकलको विक्री पुरा गर्ने लक्ष्य लिएको छ । चर्चित अमेरिकी ब्राण्ड टेस्लाले भने सन् २०३० सम्ममा १० देखि १२ वटा गिगा फ्याक्ट्री तयार गर्ने र २ करोड यूनिट टेस्ला कार विक्री गर्ने लक्ष्य लिएको छ ।

