जीप एभेन्जरको बुकिङ १० हजार नाघ्यो, आउला नेपाल ?

काठमाडौं । जीपको पहिलो इलेक्ट्रीक एसयूभी एभेन्जर यूरोपका धेरै देशमा अक्टोबर १७ तारिखबाट बुकिङ खुल्ला गरिएको थियो । यस अवधिमा कम्पनीले पुरै यूरोपबाट १० हजार यूनिट बुकिङ प्राप्त गरेको हो ।

अमेरिकी कम्पनी जीपले ल्याएको पहिलो इलेक्ट्रीक एसयूभी एभेन्जरको बुकिङ यूरोपका इटाली, फ्रान्स, जर्मनी, स्पेन, बेल्जियम, लग्जेम्बर, नेदरल्यान्डस्, अष्ट्रिया, पोर्चुगल र पोल्याण्डबाट प्राप्त गरेको हो । कम्पनीले यसको टप भेरियन्टको मूल्य ४१ हजार ५०० डलर तोकेर बुकिङ लिएको थियो ।

कम्पनीले पहिलो डेलिभरी पोल्याण्डबाट सुरु गर्ने जानकारी दिएको छ । त्यसको लागि अझै ग्राहकले ६ महिना हाराहारी कुर्नु पर्ने हुन्छ ।

पेरिस मोटर शोमा एभेन्जर ईभीको कन्सेप्ट देखाएको जीपले एभेन्जरलाई कम्पास जस्तै देखिने सेभेन स्लट ग्रिलमा ल्याउने छ । एक्स आकारको एलइडी हेडल्याम्प, बोनेटको नजिकै दिइएको एलइडी डे टाइम रनिङ लाइट, १८ इन्चको मस्कुलर अलोय ह्वील, स्क्वायर अफटेल ल्याम्प जस्ता फिचर यसको बाहिरी भागमा पाउन सकिन्छ ।

जीपले एभेन्जरको ड्यासबोर्ड प्रिमियम फिल दिने किसिमले तयार गरेको छ । यसमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, बडी कलर स्ट्रीप प्यानल, एम्बीयन्ट लाइट, एडप्टीभ क्रुज कन्ट्रोल, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर जस्ता फिचर रहने छन् ।

इलेक्ट्रीक कारमा सबैभन्दा महत्वपूर्ण मानिने ब्याट्री र पावरमा पनि एभेन्जर निकै राम्रो देखिएको छ । कम्पनीले यसमा ५४ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । यसले सिंगल चार्जमा ४०० किलोमिटर माथि रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । तर, जीपले यसको रेन्ज ५५० किलोमिटर रहने दावी गरेको छ । यसमा ११५ किलोवाट आवरको इलेक्ट्रीक मोटर रहने छ ।

जीप एभेन्जर इलेक्ट्रीक नेपाली बजारमा पनि सन् २०२३ भित्रै आउने अपेक्षा गरिएको छ । जीपको आधिकारीक वितरक एमएडब्लू लाइफले यसलाई नेपाल ल्याउने छ ।


Back_to_top