काठमाडौं । टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले टिगोर ईभीको टप भेरियन्टको रुपमा एक्सजेड प्लस ड्यूल टोन मोडल बजारमा ल्याएको छ । यो ड्यूल टोन कलरमा उपलब्ध मोडलको मूल्य रेगुलर जेडएक्स प्लसभन्दा ५० हजार रुपैयाँ बढी पर्छ ।
टाटा टिगोरले सोचेभन्दा राम्रो सफलता पाइरहेको बताउने सिप्रदी ट्रेडिङले यसलाई विभिन्न ४ भेरियन्टमा उपलब्ध गराउँदै आएको छ । टिगोर ईभीको सुरुवाती भेरियन्ट एक्सई हो । यसको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेर विक्री हुँदै आएको छ । त्यसैगरी एक्सएम मोडलको मूल्य ३१ लाख ४९ हजार, एक्सजेड प्लसको ३२ लाख ९९ हजार र एक्सजेड प्लस ड्यूल टोनको मूल्य ३३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
सिप्रदी ट्रेडिङले विक्री गर्ने टप भेरियन्ट टिगोर किन्न चाहने गहकले न्यूनतम मूल्यको २० प्रतिशतले हुन आउने ६ लाख ६९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाएर बाँकी रकम कर्जा लिन पाउने छन् । यसरी कर्जा लिँदा ग्राहकले ७ वर्षसम्म मासिक किस्तामा बुझाउनेगरी बैंकबाट कर्जा सुविधा पाउने छन् । अहिले औषतमा बैंकले १३ प्रतिशत ब्वाजदरमा ईभी किन्न कर्जा उपलब्ध गराउँदै आएका छन् ।
न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट तिरेर टिगोर ईभी किन्ने मानिसले मासिक ४८ हजार ७४० रुपैयाँ तिर्नुपर्छ । टाटाको जीपट्रोन प्रविधिमा आधारित टिगोरमा १७२ एमएमको ग्राउन्ड क्लियरेन्स भएको कारण अन्य इलेक्ट्रीक एसयूभी सरह नै यसको पर्फमेन्स रहने छ ।

सुरक्षाको हिसावले टिगोर ईभीले ग्लोबल एनक्याप क्र्यास टेष्टमा फोर स्टार रेटिङ पाएको छ । यसमा डुअल एयर ब्याग, इबीडीसहितको एबीएस, रियर पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ ।
यसमा २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । टाटाले टिगोर ईभीमा दुई ड्राइभिङ मोड दिएको छ । जसमा ड्राइभ र स्पोर्ट मोड उपलब्ध छ । यसमा रहेको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा ६५ मिनेटमा ८० प्रतिशत पुग्छ ।

यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसीडी क्लष्टर, अटो एसी, सिट उचाई मिलाउन मिल्ने ड्राइभर सिट लगायतका विशेषता रहेका छन् ।
त्यस्तै, गाडीमा स्मार्ट की पुस बटन स्टार्ट, पोर्टेबल चार्जिङ केबल पनि पाउन सकिन्छ । चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् । जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् ।

