काठमाडौं । गाडीको मूल्य बजारमा तिब्र गतिमा बढ्दै गएको छ । सन् २०२० पछि नेपालमा विक्री हुने अधिकांश मोडलको मूल्य करिब २५ प्रतिशत हाराहारीले वृद्धि भइसकेको समयमा राम्रो ह्याचब्याक कार किन्नको लागि पनि ग्राहकले ३०/४० लाख रुपैयाँ खर्च गर्नु पर्ने अवस्था आएको छ ।
यस्तोमा नेपाली बजारमा फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो कार सी-३ नेपाल आउने भएको छ । आधिकारीक विक्रेता साँग्रिला मोटर्सका अनुसार सि-३ माघको अन्तिमसम्ममा नेपालमा विक्री सुरु हुनेछ ।
साइजको आधारमा निसान म्याग्नाइट र रेनो काइगरको बराबर रहेको सि-३ एउटा उत्कृष्ट क्रसओभर कार हो । नेपालमा यसको मूल्य ३० देखि ४५ लाख भित्रै रहेर विभिन्न भेरियन्टमा उपलब्ध हुनेटन् ।
अहिले नै कुन कुन भेरियन्टमा आउने छ भन्ने विषय एकिन नभए पनि यसमा दुई इन्जिन अप्सन पाउन सकिन्छ । सि-३ क्रसओभर कारलाई १.२ लिटर नेचुरल्ली एस्पीरेडेड इन्जिन र १.२ लिटर टर्बो इन्जिनमा ल्याउने छ ।

सिट्रोनले यसमा दिएको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी १.२ लिटर टर्बो इन्जिनले ११० एचपी पावर र १९० एनएम टर्क प्रदान गर्नेछ । नेचुरल इन्जिनमा ५ स्पीड र टर्बो इन्जिनमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
धेरै हदसम्म सिट्रोन सि-५ एयर क्रसबाट प्रेरित डिजाइन र फिचर यसमा पाउन सकिन्छ । स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ, विभिन्न ६ कलर अप्सन, भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्वील यसमा पाउन सकिन्छ ।
सिथ्रीको क्याविनमा १० इन्चको ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता फिचर स्टायडर्ड रुपमा आउने छन् ।

