काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी भीजी सुजुकीले एड्भेन्चर मोटरसाइकल नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले भी–स्ट्रोम २५० नेपाल ल्याउन लागेको हो ।
नाडा अटो शो २०२२ मा सार्वजनिक गर्ने तयारी भएको यो मोटरसाइकल आयात प्रतिबन्धसँग नेपाल ल्याउने प्रक्रिया रोकिएको थियो । आधिकारीक वितरक भीजी सुजुकी अब भने यसलाई ल्याउने प्रक्रिया सुरू गरेको हो ।
‘आयात प्रतिबन्ध खुलेको छ । बजारमा केही नयाँ गर्ने तयारी अनुसार हामी भी–स्ट्रोम २५० ल्याउने कुरा आन्तरिक रुपमा छलफल गरिरहेका छौं । हामी अबको केही महिनामै यसलाई नेपाल ल्याउने छौं’, भीजी सुजुकी स्राेतले मेरोअटोसँग भन्यो ।
नेपाली बजारमा एड्भेन्चर सेग्मेन्टमा केटीएम २५० एड्भेन्चर मोटरसाइकल बिक्री भइरहेको छ । यसका अलावा बेनेलीले २५० एड्भेन्चर बिक्री गर्दै आएको भए पनि सडकमा राम्रो उपस्थिति छैन । यस्तोमा नेपाल आउने सुजुकी भी–स्ट्रोम २५० ले नेपाली बजारमा केटीएम २५० सँग प्रतिस्पर्धा गर्नेछ ।

भारतीय बजारमा केटीएम २५० सुजुकीको तुलनामा ३० हजार रुपैयाँले महंगो रहेको छ । हाल नेपाली बजारमा केटीएम २५० एड्भेन्चर ८ लाख १८ हजार रुपैयाँमा बिक्री भइरहेको छ । सुजुकी भी–स्ट्रोम २५० नेपालमा ८ लाखदेखि ८ लाख ५० हजार रुपैयाँ हाराहारीमा आउने अनुमान गर्न सकिन्छ ।
सुजुकी भी स्ट्रोम २५० एड्भेन्चर टुरर डिजाइनमा निर्माण भएको मोटरसाइकल हो । यसमा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनी ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

त्यस्तै, भी–स्ट्रोम २५० को अगाडि टेलिस्कोपिक र रियरमा स्वीङ आर्म सस्पेन्सन उपलब्ध छ । यसका सबै प्रकारका लाइटहरु एलईडी रहेका छन् । त्यसैगरी, यसमा पूर्णत: डिजिटल कन्सोल, एबीएस, साइड स्ट्याण्ड सेन्सर, फ्रन्ट भाइजर जस्ता फिचर छन् ।


