९ हजार डलरभन्दा कम मूल्यको ‘नानो बक्स’ ईभी

काठमाडौं । चिनियाँ कार निर्माता डोङफेङले सानो इलेक्ट्री कार ‘नानो बक्स’ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो कारको मूल्य ८ हजार ८०० देखि ९ हजार ६०० डलरसम्म मात्रै तोकिएको कारण यसमा धेरैले आँखा लगाएका छन् ।

डोङफेङ मोटर ग्रुप अन्तगर्तको डोङफेङ ईभीले उत्पादन गरेको यो कार नयाँ इलेक्ट्रीक प्लेटफर्ममा तयार भएको हो । सानो नानो बक्सबाट यात्रा सुरु गरेको कम्पनीले आगामी ५ वर्षमा सेडान र एसयूभीसहित ३ देखि ५ नयाँ मोडल बजारमा ल्याउने जनाएको छ ।

उसोत चीनमा डोङफेङ र रेनोको साझेदारीमा के-जेडई (क्वीड) इलेक्ट्रीक मोडल उत्पादन हुँदै आएकोमा त्यही प्रविधि र फ्याक्ट्रीमा नानो बक्सको उत्पादन भएको हो । यसको साइजपनि लगभग रेनो क्वीडकै बराबर छ ।

नानो बक्सको लम्बाई ३७३२ एमएम, चौडाई १५७९ एमएम र उचाई १५१५ एमएम रहेको छ । यसमा २४२३ एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसको पनि अगाडि भागमा नै चार्जिङ पोर्ट दिइएको छ ।

दुई कलरमा सजिएको क्याविन, ७ इन्चको इन्ट्रुमेन्ट प्यानल, १० इन्चको फोटेन्टमेन्ट सिस्टम, रिमोर्ट डोर कन्ट्रोल, रिमोर्ट एयर कन्डिसन, चार्जिङ म्यानेजमेन्ट सिस्टम, भेहिकल कन्डिसन इनक्वाइरी जस्ता फिचर यसमा छन् ।

फ्रन्ट ह्वील ड्राइभ ३३ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको नानो बक्समा सिएटीएलले उत्पादन गरेको १६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा क्रुज मोडमा चलाउँदा २०१ किलोमिटर रेन्ज दिने चिनियाँ सीएलटीसीले प्रमाणित गरेको छ । यसले फास्ट डिसी चार्जर पनि सपोर्ट गर्ने बताइएको छ ।


Back_to_top