काठमाडौं । जोधपुर स्थित ईभी स्टार्ट अप कम्पनी डिभोट मोटर्सले इलेक्ट्रीक मोटरसाइकलको प्रोटोटाइप देखाएको छ ।
कम्पनीले ९.५ किलोवाट क्षमताको पावरफुल मोटरसहित हाई परफरमेन्स मोटरसाइकल देखाएको हो । डिभोट मोटर्सका अनुसार यस इलेक्ट्रीक बाइकलाई एकपटकको फुलचार्जमा २०० किलोमिटर चलाउन सकिन्छ । यसले अधिकतम १२० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्छ ।
डिभोट इलेक्ट्रीक बाइकलाई पूर्णरुपमा चार्ज गर्न ३ घण्टामात्र समय लाग्छ । यो इलेक्ट्रीक बाइक दैनिक प्रयोग गर्ने वा लामो दुरीको यात्रा गर्न रुचाउनेका लागि हेरेर डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
यस इलेक्ट्रीक प्रोटोटाइपमा क्लिन रेट्रो डिजाइन, ट्यांक र साइड कभर प्यानलका लागि आकर्षक पेन्ट अप्सनहरु रहेका छन् । यसमा राइडरको सुविधाका लागि ब्याट्री टेक एड्भान्सड फिचर्स प्रदान गरिएको छ ।
साथै, यसमा टीएफटी स्क्रिन, एन्टी थेफ्ट सहितको बिना चाबी अन÷अफ गर्न सकिने की–लेस सिस्टमसँगै टाइप २ चार्जिङ पोइन्ट समावेश गरिएको छ । यसको चार्जिङ पोर्ट फ्रन्ट दिइएको छ । यसलाई स्मार्ट चार्जरले एक घण्टाको चार्जमा ६० किलोमिटर गुडाउन पुग्छ । त्यस्तै, यसमा रहेको स्मार्ट इन्टरफेसले यसको स्पीड मोडहरूलाई थप सहज बनाउँछ ।
डिभोट इलेक्ट्रीक मोटरसाइकलमा लिथियम एलएफपी ब्याट्री प्रयोग गरिएको छ । यो ब्याट्री प्याक स्मार्ट ब्याट्री म्यानेजमेन्ट सिस्टम (बिएमएस) बाट सुसज्जित रहेको छ । यस बाइकलाई टेम्परेचर कन्ट्रोल र इनर्जी रिजेनेरेसनको माध्यमबाट रिचार्ज गर्न सकिन्छ ।
डिभोट मोटर्सले युकेमा आफ्नो अनुसन्धान र विकास (आरएन्डडी) केन्द्र स्थापना गरेसँगै राजस्थानको जोधपुरमा विकास केन्द्र संचालनमा ल्याएको छ । कम्पनीले ७० देखि ९० प्रतिशत भारतमै उत्पादन हुने पार्टस् प्रयोग गर्नेछ । यो इलेक्ट्रीक बाइकलाई कम्पनीले सन् २०२३ को मध्यतीर भारतीय बजारमा ल्याउने अनुमान गरिएको छ ।

