काठमाडौं । सन् २०२१ मा नै सार्वजनिक भएको इलेक्ट्रीक स्कुटर सिम्पल वान बजारमा आउने भएको छ । भारतीय इलेक्ट्रीक स्कुटर निर्मात कम्पनी सिम्पल इनर्जीले २०२१ मा सार्वजनिक गरेको सिम्पल वान इलेक्ट्रीक स्कुटर उत्पादनको अन्तिम चरणमा प्रवेश गरेको हो ।
कम्पनीले हालैमात्र भारतको तमिलनाडुमा १०० करोडको लगानीमा बनेको प्लान्टमा सिम्पल वान इलेक्ट्रीक स्कुटर उत्पादन सुरु गरेको हो । कम्पनीका अनुसार सन् २०२३ को तेस्रो त्रैमाससम्ममा सिम्पल वान इलेक्ट्रीक स्कुटर बजारमा आउने छ ।
सन् २०२२ मा कम्पनीले विक्री सुरु गर्ने घोषण गरेको भएतापनि सुरक्षा मापदण्डका कारण कम्पनीले सिम्पल वान सार्वजनिक गर्न नसकेको बताइन्छ । सन् २०२२ कम्पनीले ३० हजार यूनिटभन्दा धेरै स्कुटर बुकिङ लिइसकेको थियो ।
सिम्पल इनर्जीको उत्पादन सिम्पल वानमा ८.५ किलोवाट क्षमताको मोटर दिइएको छ । यसले ११.३ हर्सपावर जेनेरेट गर्छ । यसमा ३.२ किलोवाट आवरको फिक्स र १.६ किलोवाट आवरको रिमुभएवल लिथियम ब्याट्री उपलब्ध छ । यी दुबै ब्याट्रीलाई एकपटक फुलचार्ज गरेर ३०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
सिम्पल वानको उच्च गति क्षमता १०५ किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीका अनुसार सिम्पल वान २.७७ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघन्टको स्पीडमा कुद्न सक्छ । त्यस्तै यो स्कुटरमा ७ इन्च डिस्प्ले, नेभिगेशन, ब्लुटुथ जस्ता फिचर रहेको छ । यो स्कुटरमा अन्डर सिट ३० लिटरको क्षमता रहेको छ ।
अहिले पनि भारतीय बजारमा यो स्कुटरको बुकिङ खुल्ला नै रहेको छ । यो सिम्पल वान इलेक्ट्रीक स्कुटरले ओला तथा एथर इलेक्ट्रीक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।


