काठमाडौं । देशकै सबैभन्दा ठूलो पर्यटकिय गन्तब्य पोखरा गाडी लिएर जानै मुश्किल पर्ने अवस्था सृजना भएको छ । सरकारले मुग्लिन–पोखरा सडकखण्ड विस्तारको क्रममा उचित बैकल्पीक व्यवस्थापन गर्न नसक्दा पोखरा गाडी लिएर जानै नसक्ने अवस्था सृजना भएको हो ।
अहिले आँबुखैरेनीदेखि तनहुँको कोत्रेसम्म बाटो अस्थव्यस्त रहेको छ । यसरी बाटो अस्थब्यस्त हुँदा दैनिक जसो हजारमा पुग्ने आन्तरिक पर्यटकको संख्या ८० प्रतिशतसम्मले कम भएको स्थानिय व्यवसायीको भनाई छ ।
बाराही मन्दिरका पुजारीको भनाई अनुसार विगत ३ वर्षदेखि पोखरामा पर्यटकको चहलपहल नै कम भएको र मन्दिर दर्शन गर्न आउने भक्तजनको समेत उपस्थिति ८० प्रतिशतसम्मले घटेको छ ।
फेवातालमा ढुङ्गा चलाउने चालकहरुको भोगाई पनि पोखरा सून्य हुँदै गएको र अहिले भइरहेको सडक विस्तारको कारण अलिअलि आइरहेका पर्यटकको संख्यामा पनि कमी आएको सुनाउँछन् ।

होटल व्यवसायी राम अधिकारी पनि अबको केही वर्ष बाटोकै कारण पोखरामा पर्यटकीय गतिविधि कम हुने बताउँछन् । उनि भन्छन्, ‘मुग्लिनबाट पोखरा आउनै ४ घन्टाभन्दा धेरै लाग्छ । त्यसमा पनि धुलो, खाल्डाखुल्डी र अचानक सडक विस्तार आयोजनाले बाटो रोक्दा घन्टौंसम्म जाममा बस्नु पर्ने अवस्था छ । यस्तोमा दुःख पाउन को गाडी लिएर पोखरा आउँछ ।’
अधिकारीका अनुसार सडक विस्तार आयोजनाले विकल्प र अवस्था प्रति गम्भिर नबनी काम गर्दा पोखराको पर्यटन सकिने अवस्था आएको हो । अहिलेकै हिसावले विस्तार हुने हो भने अबको ५ वर्षमा पनि मुग्लिन पोखरा सडक विस्तार पुरा हुने देखिदैन ।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी निर्माण कार्य भइरहेको छ । पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस राजमार्गको साइडमा ग्याबिन जाली लगाउने तथा पर्खाल लगाउने कार्य भइरहेको छ ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा राजमागृ विस्तार गरेर चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ ।
चार लेनको राजमार्ग बनाउँदा सडक सीमा दुईतर्फी २५–२५ मिटर र बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर र दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।
निर्माण सम्पन्न भएपछि यसले पोखराको पर्यटनसँगै गण्डकी प्रदेश भित्रका सबै जल्लामा यातायातको सहज पुग्ने भएपनि निर्माणको क्रममा नै पोखराको पर्यटन व्यवसाय डुब्ने अवस्था आएको हो ।


