काठमाडौं । टाटा मोटर्सले आफ्नो इलेक्ट्रीक ह्याचव्याक कार टियागो ईभी एकै पटक बजारमा २ हजार यूनिट पठाएको छ । कम्पनीले भारतको विभिन्न १६३ सहरमा २ हजार टियागो ईभी पठाएको हो ।
टाटाले सुरुवाती १० हजार यूनिट बुकिङ गर्ने ग्राहकलाई एउटा मूल्य लगाएर यसअघि नै बुकिङ खुल्ला गरेको थियो । त्यही अनुसार ग्राहकले सबै १० हजार यूनिट नै बुकिङ गरिसकेका थिए ।
टाटा टियागो ईभी रेगुलर आईसी इन्जिन भएको टियागोमा नै जीपट्रोन प्रविधि प्रयोग गरेर तयार पारिएको मोडल हो । कम्पनीले ईभीमा विशेष कलर र अगाडिको भागमा ईभी स्टाइलको प्रयोग गर्दै आएको छ ।
टाटाले टियागोलाई २ ब्याट्री अप्सनमा ल्याएको छ । टियागोमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको फरक साइजको ब्याट्री दिएको छ । टियागो ह्याचव्याकमा टाटाले डीसी फास्ट चार्जिङ पोर्ट समेत उपलब्ध गराएको छ ।
यसलाई डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्ने छ । सामान्य होम चार्जरले चार्ज गर्दा भने फुलचार्ज गर्नका लागि ८ घण्टासम्म लाग्ने कम्पनीको भनाई छ ।
कम्पनीका अनुसार टियागो ईभीले २४ किलोवाट आवरको ब्याट्री प्याक भर्सनले एक पटकको फुलचार्जमा ३१५ किलोमिटर र १९.२ किलोवाटआवर ब्याट्री प्याक भर्सनले २५० किलोमिटरको रेन्ज दिनेछ ।
टाटा टियागोमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । त्यो भनेको ७४ ब्रेकहर्स पावर हो । साथै, १७० न्यूटन मिटरको टर्क यसमा पाउन सकिन्छ । टियागोले जम्मा ५.७ सेकेण्डमा ६० किलोमिटर प्रतिघण्टा गतिमा गुड्ने क्षमता राख्छ । टियागो ईभीमा सिटी र स्पोर्टस गरी दुईवटा ड्राइभ मोडमा उपलब्ध हुनेछ । टियोगोमा ४ लेबलको रिजेनेरेसन ब्रेकिङ मोड रहेको छ ।
टियोगो ईभीमा ४५ थरी फिचर रहेको जी–कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी रहेको टियोगो ईभीमा ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको छ ।
टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।
भारतमा डेलिभरी सुरु भएको कारण अबको केही महिना भित्रै टियागो ईभी नेपाली बजारमा उपलब्ध हुनेछ ।


