काठमाडौं । फोर्डको आधिकारीक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले नयाँ संस्करणको ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’ नेपाल ल्याएको छ । निकै पावर फुल इन्जिन र स्टाइलिस डिजाइनमा आएको एभरेष्टको आधिकारीक विक्री सुरु भएको हो ।
नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लिटर क्षमताको वाई टर्बो डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्छ । यसमा १० स्पीड क्षमताको अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।
नयाँ एभरेष्टको बारेमा बोल्दै जिओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छा भन्छन्, ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट उत्कृष्ट क्षमताहरुका साथ प्रभावशाली सुविधायुक्त एक नवीनतम तथा असल एसयूभी हो । यसले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरुले अपेक्षा गरेभन्दा माथि उत्रन सफल हुनेछ । यसको परिष्कृत मूल्यले नेक्स्ट-जेन एभरेष्ट धेरै नयाँ ग्राहकहरुको इच्छाएको र छनौटको एसयूभी बन्नेमा हामी विश्वस्त छौँ ।’
निकै फराकिलो स्पेश, आकर्षक ड्यासबोर्ड, वायरलेस चार्जिङ, इलेक्ट्रीक पार्किङ ब्रेक जस्ता अन्य धेरै सुविधाहरू यसमा उपलब्ध रहेको छ । लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइनमा दिइएको पछाडिका सिटले आरामदायी यात्रा गराउने छ ।

एसयूभीमा १२ इन्चको टचस्क्रिन, १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, ड्राइभर असिस्ट टेक्नोलोजी, एक्टिभ पार्क असिस्ट २.०,स्टप एण्ड गोको साथमा नयाँ क्रुज कन्ट्रोल यसमा दिइएको छ ।
फोर्डको ग्लोबल डिजाइन डीएनए अन्तर्गत सी-क्ल्याम्प हेडल्याम्पले अगाडिको भागलाई निकै बोल्ड देखाएको छ । एभरेष्ट फोर ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध रहेको छ ।
नेक्स्ट-जेन फोर्ड एभरेष्ट ८०० एमएम गहिरो पानीमा समेत सहज तरिकाले चलाउन सकिने छ । कम्पनीले यसको मूल्य २ करोड ४० लाख रुपैयाँ तोकेर विक्री सुरु गरेको जनाएको छ ।

