गियर भएको पहिलो इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । मेनुअल ट्रान्समिशन गियर भएको पहिलो इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक भएको छ । भारतीय स्टार्टअप कम्पनी मेटरले गियरबक्स सहितको पहिलो इलेक्ट्रीक मोटरसाइकल ऐरा सार्वजनिक गरेको हो ।

कम्पनीले चार भेरियन्टमा इलेक्ट्रीक मोटरसाइकल ऐरा सार्वजनिक गरेको हो । यसमा ऐरा ४०००, ऐरा ५०००, ऐरा ५००० प्लस र ऐरा ६००० प्लस रहेको छ ।

कम्पनीका अनुसार तीन भेरियन्टको रेन्ज १२५ किलोमिटर रहेको छ । तर, ऐरा ६००० प्लस भेरियन्टले भने एक पटकको फुलचार्जमा १५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

कम्पनीले यो मोटरसाइकलमा दुई भेरियन्टको ब्याट्री अप्सन दिएको छ । जसमा ५ किलोवाट आवर र ६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । मेटर ऐराको सबै मोटरसाइकलमा आइपी ६७ रेटिङ प्राप्त लिक्वीड कुल्ड ब्याट्रीका दिइएको छ ।

मेटर ऐरामा १० किलोवाट क्षमताको मोटर दिइएको छ । यो मोटरसाइकलले ०-६० को स्पीड मात्र ६ सेकेन्डमा पूरा गर्न सक्छ । यो मोटरमा हाइपर सिफ्ट ४ स्पीडको म्यानुअल गियरबक्स जडान गरिएको छ । यसमा ४ राइडिङ मोड पाउन सकिन्छ ।

यो मोटरसाइकलमा एलइडी लाइट, एलईडी डीआरएल, डबल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, ७ इन्च इन्स्ट्रुमेन्ट क्लस्टर, एन्ड्रोइड अटो, लाइभ लोकेशन ट्रयाकिङ, रियल टाइम ब्याट्री कन्जम्सन, अफलाइन नेभिगेशन, गियर इन्डिकेटर, कि-लेस स्टार्ट जस्ता फिचर पाउन सकिन्छ ।

पहिलो चरणमा कम्पनीले दुई भेरियन्टको मात्र बुकिङ लिन सुरू गरेको छ । जसमा ऐरा ५००० र ऐरा ५००० प्लस रहेको छ । कम्पनीले ऐरा ५००० को एक्स शोरुम मूल्य १ लाख ४४ हजार र ऐरा ५००० प्लसको मूल्य १ लाख ५४ हजार भारतीय रुपैयाँ तोकेर बुकिङ लिन सुरू गरेको हो ।


Back_to_top