काठमाडौं । नेपालको लागि किया मोटर्सको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया कारेन्सको बुकिङ लिइरहेको छ । कम्पनीले अहिले बुकिङ गर्ने मानिससँग ५० हजार रुपैयाँ लिएर बुकिङ गरिरहेको हो ।
कम्पनीले बाहिर सार्वजनिक नगरेपनि किया कारेन्सको मूल्य ५२ लाख ९० हजार रुपैयाँ रहने छ । सुरुमा एउटा मात्रै प्रेस्टीज भेरियन्टमा आउन लागेको कारेन्स ७ सिट क्षमताको एमपीभी हो । यसअघि अप्रिल ११ तारिखबाट विक्री सुरु हुने भनिएपनि केही कारणले एक हप्ता मिति सरेको कम्पनीको भनाई छ ।
भारतीय बजारमा १ वर्ष अगाडिदेखि बिक्री हुँदै आएको कारेन्सको फ्रन्टमा टाइगर नोज डिजाइनको फेसिया रहेको छ । कियाले कारेन्सको प्रेस्टीज भेरियन्टमा डिजिटल कन्सोलका साथै वायलेस एप्पल कार प्ले तथा एन्ड्रोइड अटो दिएको छ । ८ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र बोसको ६ वटा स्पीकर पाउन सकिन्छ ।
अन्य फिचरको रुपमा रियर भ्यू क्यामरा, इलेक्ट्रीकल्ली एड्जस्टेवल ओराभीएम, स्टेरिङ माउण्टेड कन्ट्रोल सिस्टम, स्वच्छ हावाको लागि एयर प्यूरीफायर, पार्किङ सेन्सर, एसी जस्ता फिचरले यसलाई निकै प्रिमियम बनाएको छ ।

कियाले यसलाई सुरक्षीत बनाउन ६ वटा एयरव्याग, एबीएस ब्रेकिङ सिस्टम, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटर, भेहिकल स्टेविलीटी मेनेजमेन्ट, डाइनामीक ब्रेक कन्ट्रोल, अल ह्वील डिस ब्रेक, हिल असिस्ट जस्ता आधुनिक फिचर प्रदान गरेको छ ।
भारतमा पेट्रोल र डिजेल इन्जिन अप्सनमा उपलब्ध कारेन्स नेपालमा भने १.५ लिटरको पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ । यो इन्जिनले ११५ पीएस पावर तथा १४४ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड म्यानुअल गियरबक्स र ७ स्पीड डिसीटी गियरबक्स छनोट गर्न सकिने छ ।

