काठमाडौं । कियाको थ्री रो इलेक्ट्रीक एसयूभी ईभी-९ सार्वजनिक हुने भएको छ । कोरियन निर्माताले ७ सिट क्षमताको विद्युतीय एसयूभी मार्च अन्तिमसम्ममा अन्तर्राष्ट्रिय बजारमा ल्याउने भएको हो ।
किया मोटर्सले सन् २०२१ को लस एन्जलस अटो शोमा पहिलो पटक ईभी-९को कन्सेप्ट सार्वजनिक गरेको थियो । कियाले ईभी-९ मा आफ्नो परम्परागत टाइगर नोज ग्रिलको सट्टा डिजिटल टाइगर नोजको प्रयोग गरेको छ ।
यसको फेसियामा कनेक्टीङ स्लीम लाइटले वारपार जोडिएको छ । साथै, कियाले ठूलो साइजको एसयूभीमा आफ्नो टेलुराइड मोडलमा जस्तै भर्टिकल हेडलाइट दिएको छ ।
ड्यासबोर्डमा विसाल स्कृनको साथ टूइन होरिजेन्टल स्पोकसहितको स्टेरिङ ह्वील रहने छ । उक्त एसयूभीमा सेकेन्ड रोको सिट क्याप्टेन सिट रहने देखिन्छ । जसलाई १८० डिग्रिमा घुमाउन सकिन्छ । यसलाई घुमाएर तेस्रो रोमा बस्ने प्यासेन्जरसँग सजिलै मिटिङ गर्न सकिन्छ ।
कियाले यो एसयूभीको कुनै टेक्नीकल डिटेल बाहिर ल्याएको छैन । हुन्डाई मोटर्सको इजीएमपी प्लेटफर्ममा बनेको ईभी-९ कम्पनीको ४०० र ८०० भोल्ट आर्किटेक्चरमा तयार भएको हो ।

