काठमाडौं । नेपाल प्रहरीले सवारी साधनको नक्कली पाटपुर्जाको कारोबार गर्नेहरूको खोजी तीव्र बनाएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभरका ठूला सहरमा गाडीका नक्कली पाटपुर्जाको कारोबार बढेसँगै त्यसमा संलग्न व्यक्तिहरूको खोजी र कारबाहीलाई तीव्र बनाएको हो ।
यसैक्रममा, प्रहरीले गाडीका अवैध पार्टसहरूको कारोबार गर्ने आधादर्जन बढी व्यक्तिलाई पक्राउ गरी गचेत गराइ छाडेको छ ।
टाटा गाडीका अवैध पाटपुर्जा विक्री गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक विनोद कार्की र पोखरास्थित स्टार अटो पाट्सका सञ्चालक सतिस शाक्य, इनरुवा ४ सुनसरीस्थित पूजा ट्रेडर्सका सञ्चालक देवनारायण साहलाई सम्बन्धित निकायमा उपस्थित गराई अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराएको छ ।

त्यस्तै, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जीवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका सञ्चालक ध्रुव सिङ चौहान लगायतका व्यक्तिहरूलाई पनि सचेत गराइ छाडेको छ ।
गाडीका अवैध पार्टपुर्जाको प्रयोगले अप्रत्याशित दुर्घटना निम्तिने र धनजनको ठूलो क्षति हुने प्रहरीको भनाइ छ । साथै, अवैध कारोबारले राज्यले पाउने ठूलो राजस्व समेत गुम्दै आएको छ भने वैधानिक रुपमा कारोबार गर्ने व्यवसायीहरू पनि प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

