काठमाडौं । कोरियन अटोमोबाइल कम्पनी किया मोटर्सले २ हजार ७०० यूनिट फर्स्ट जेनेरेसन सोल ईभी फिर्ता बोलाएको छ ।
कम्पनीले ब्याट्रीमा आगलागीको समस्या देखापरेको गुनासो बढ्दै गएपछि गाडी फिर्ता बोलाएको हो ।
फिर्ता बोलाइएका गाडी २०१५ देखि २०१९ मोडल भित्रका रहेका छन् । यी गाडीहरूमा ई ४०० हाइ–भोल्टेज ब्याट्री प्याक दिइएको थियो। यसमा फिर्ता बोलाइएका गाडीहरूमा ई ४०० प्याकको वारेन्टी अन्तर्गत मुख्य ब्याट्री प्रतिस्थापन गरिएका केही गाडीहरू समेत रहेका छन् ।
कुल फिर्ता बोलाइएका गाडीहरूमा, सन् २०१७ जुलाइ ३ देखि सन् २०१८को सेप्टेम्बर २८ तारिखसम्म उत्पादन गरिएको ई ४०० ब्याट्रीयुक्त गाडी, २०१५ देखि २०१७ मोडलका सन् २०१४ जुलाई १५ देखि सन् २०१७ जुन ३० तारिखसम्म उत्पादन भएका र ई ४०० ब्याट्री प्याकको वारेन्टी अन्तर्गत हाइ भोल्टेज ब्याट्री प्रतिस्थापन गरिएका कियाको सोल ईभी रहेका छन् ।

यी गाडीमा अटोमेकरहरूले गरेको परीक्षणमा भने ब्याट्री सेलको एनोड र क्याथोड बीच हुने गरेको विद्युतीय सर्ट सर्किट गाडीको मुनि रहेको ब्याट्री प्याक एसेम्बली केस भित्र हुन सक्ने देखिएको छ ।
नेपालमा पनि किया सोल ईभी केही संख्यामा विक्री भएको थियो । नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल्स ट्रेडिङले पछिल्ला केही वर्ष यता यो मोडलको गाडी नेपाल नआएको बताएको छ । यस घटनालाई लिएर कियाको सेन्टरल पोर्टलबाट आधिकारिक जानकारी नआएकाले डराउनुपर्ने अवस्था नरहेको कम्पनीको भनाइ छ ।
‘हामीले बढ्दो कर र भन्सार महशुल लगायत विभिन्न कारणले सन् २०१८बाट नै यो ईभी मोडल नेपाल ल्याएका छैनौँ । यो घटना २०१८ अघिका मोडलहरूमा भएको हो,’ कम्पनी स्रोतले मेरो अटोसँग भन्यो, ‘यसबारे कियाको आधिकारिक च्यानलबाट नेपाल आयात भएका ईभीबारे कुनै सूचना आएको छैन। यसले नेपाल आएका गाडी सुरक्षित छन् भन्न सकिन्छ । तर, यसबारे केही जानकारी आएमा हामीले ग्राहकलाई तुरुन्तै खबर गर्छौं ।’

