काठमाडौं । नेपालमा विद्युतीय गाडी सन् २०१० देखि विक्री वितरण हुन थाले पनि विक्री संख्या अत्यन्त न्यून थियो । सन् २०१८ मा बीवाइडी र हुन्डाईले ठूला एसयूभीहरू ईभीको रूपमा ल्याएसँगै विद्युतीय साधनको विक्री बढ्न थालेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको ९ महिनासम्ममा ५ हजार ८१ यूनिट विद्युतीय कार आयात भएको देखिन्छ ।
भारतले लगाएको नाकाबन्दीपछि ईभीको प्रयोग बढाउनु पर्छ भन्ने विषयमा नेपाली समाज सचेत भएको थियो भने, सरकारले पनि ईभीमा सहुलियत दिनुपर्छ भनेर बजेट मार्फत कर छुट घोषणा गरेको थियो ।
त्यसका बाबजूद विद्युत् आपूर्तिमा निकै ठूलो समस्या भोगिरहेको नेपालले ईभीप्रति आम उपभोक्तामा आत्मविश्वास बढाउन सकेको थिएन । आन्तरिक विद्युत् उत्पादनको वृद्धि र भारतबाट नपुग विद्युत् आयात गरेर भएपनि लोडसेडिङ अन्त्यभएसँगै ईभीको विक्री बढ्न थालेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५७४ यूनिट ईभी आयात भएको थियो । त्यति बेला कोरियन निर्माता हुन्डाई र कियाको साथै चिनियाँ उत्पादक बीवाइडी र एमजीका ईभी नेपाल आएका थिए ।
तात्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले एकै आर्थिक वर्षमा ईभीको आयात ठूलो परिमाणमा बढेको भन्दै कर बढाएसँगै आर्थिक वर्ष २०७७/७८ मा केवल २४९ यूनिट मात्रै ईभी आयात भएको थियो । त्यो पनि आर्थिक वर्षको अन्त्यतिर करको दरमा केही परिमार्जन भएसँगै उक्त परिमाणमा ईभी आयात भएको हो ।

करका दरमा परिवर्तन भए पनि १०० किलोवाट क्षमताको ईभीमा कर परिवर्तन नहुँदा आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८०७ यूनिट ईभी आयात भएको थियो । उक्त आयातसँग सरकारले पुनः ईभीमा कर चलायो । तर, १०० किलोवाट आवरभन्दा कम क्षमताको मोटर जडान भएका गाडीमा कर नचलाएकै कारण चालु आर्थिक वर्षको ९ महिनामा २ हजार ४५१ यूनिट विद्युतीय कार आयात भएको छ ।
विगत ४ वर्षमा कम्बस्चन इन्जिन भएका चारपाङ्ग्रे साधनको आयात झण्डै ४९ हजार यूनिट भएको छ । चालु आर्थिक वर्षमा कम्बस्चन गाडीको आयात कम र ईभीको आयात बढी हुँदा औषतमा १० प्रतिशतभन्दा बढी आयात देखिएपनि अघिल्ला ३ आर्थिक वर्षको आयातले ईभीको उपस्थिति अत्यन्त न्यून देखाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा केबल २ हजार यूनिट मात्र पेट्रोलियम पदार्थबाट चल्ने कार आयात हुँदा ईभीको हिस्सा बढेको हो ।
ईभीको धेरै फाइदा
विगत ४ वर्षमा दर्जनौ पटक काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा परिसकेको अवस्थामा विद्युतीय साधनको उपभोग बढाउनु पर्ने हाम्रो बाध्यता हो । साथै, हरेक थोपा पेट्रोलियम पदार्थ आयात गरेर चल्नु पर्ने हामी कहाँ आफ्नै विद्युत्को प्रयोग गरेर चल्ने गाडी उपयुक्त नहुने कुरा नै भएन ।

पछिल्ला दुई वर्षको पेट्रोलियम पदार्थको आयातमा मात्रै हामीले ७ खर्ब रुपैयाँ खर्च गरिसकेका छौं । त्यसलाई कम गर्न पनि विद्युतीय साधनको उपभोग बढाउनु पर्ने दबाबमा सरकार नै रहेको छ । त्यसैले त सरकारले पनि ईभीको प्रयोग बढाउन भनिरहेको छ । त्यसलाई नागरिक तवरबाट पनि स्वीकार गर्ने काम भएको छ ।
५ हजार गाडीले वार्षिक कति पेट्रोल बचाउँछ ?
विगत ४ वर्षमा आयात भएको ५ हजार ८१ यूनिट विद्युतीय कारले कति पेट्रोल बचाउँछ भन्ने चासो सबैमा हुनु स्वभाविक हो । अहिले नेपालमा कार किन्नेले वार्षिक औषतमा १० हजार किलोमिटर गुडाउने हो भने, सबै गाडी कुल ५ करोड ८ लाख १० हजार किलोमिटर गुड्छ । औषतमा प्रति लिटर ११ किलोमिटर माइलेज मान्ने हो भने वार्षिक ४६ लाख १९ हजार ९१ लिटर पेट्रोल बचत हुन्छ ।
अहिले भारतीय आयाल कर्पोरेशनसँग नेपाल सरकारले ८१ रुपैयाँ प्रति लिटरमा खरिद गरेको मान्ने हो भने ३७ करोड ४१ लाख ४६ हजार रुपैयाँको पेट्रोल बचत हुन्छ । यदि अहिले सरकारले विक्री गर्दै आएको १७५ रुपैयाँ मूल्यलाई आधार मानेर हिसाब गर्ने हो भने ५ हजार ८१ यूनिट कारले वार्षिक ८० करोड ८३ लाख ४० हजार रुपैयाँ बराबरको पेट्रोल बचत गर्छ ।
कति बिजुली खपत गर्छ ?
एउटा गाडी औषत १० हजार किलोमिटर वार्षिक गुड्ने हाम्रो अनुमान अनुसार कति विद्युत् खपत हुन्छ भन्ने विषय पनि हेर्नु पर्ने हुन्छ । विगत ४ वर्षमा नेपाल आएका ५ हजार ८१ यूनिट कारले वार्षिक ८४ लाख ६८ हजार ३३४ यूनिट बिजुली खपत गर्छ । त्यो भनेको ८ हजार ४६८ मेगावाट आवर हो । यसलाई दैनिक उपभोगमा हेर्ने हो भने २३ मेगावाट आवर विद्युत् दैनिक खपत हुन थालेको मान्न सकिन्छ ।

ईभीको चार्जिङ अधिकांशले रातिको समयमा गर्ने भएको कारण खेर जाने विद्युत्को उच्चतम प्रयोग हुन्छ । यसलाई स्टोरेज मानेर हेर्दा राज्यले ठूलो रकम फाइदा पाइरहेको मान्न सकिन्छ । त्यसैले ईभीको उत्पादन नेपालमै गर्न र उपभोग बढाउन सरकारले थप सहुलियत दिने हो भने त्यसले हाम्रो अर्थतन्त्रमा नै सकारात्मक फाइदा गर्नेछ ।


