काठमाडौं । साझा यातायातले आजदेखि काठमाडौं उपत्यकाको सडकमा थप ३ वटा विद्युतीय बस संचालनमा ल्याउने भएको छ ।
सरकारी स्वामित्वको साझा यातायातले आजदेखि ललितपुरको पाटनढोका–रत्नपार्क–जोरपाटी रुटमा यी बस संचालनमा ल्याउने भएको हो ।
उक्त बस सेवाको आज दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्ने शुभारम्भ गर्ने साझा यातायातले जनाएको छ ।
साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले नेपाल ल्याइएका ४० यूनिट बस मध्ये यसअघि नै ३ वटा संचालनमा आएका र आजदेखि थप ३ वटा संचालनमा आउने बताए । उनले बाँकी ३४ वटा बस पनि क्रमशः संचालनमा ल्याइने बताए ।
‘साझाका विद्युतीय बस अब पूर्णरूपमा संचालनमा आउने तयारी अन्तिम चरणमा पुगेको छ । यी बसको कागजात र रुट पर्मिटको काम चलिरहेकाले छिट्टैनै संचालनमा आउने अपेक्षा गर्न सकिन्छ,’ पाण्डेले भने ।
साझाका विद्युतीय बस चिनियाँ कम्पनी सीएचटीसी (नान्जिङ) अटोले निर्माण गरेको हो । साझाको कुल ३०० वटा विद्युतीय बस खरिद गर्ने योजना अन्तर्गत पहिलो चरणमा ४० वटा बस ल्याएको हो ।
साझाले पहिलो चरणमा खरिद गरेको ४० युनिट बस मध्ये पहिलो लटमा तीन वटा बस नेपाल आएको थियो । बाँकी रहेका ३७ युनिट बस पनि माघमा नै नेपाल आएको भएपनि संचालनमा आउन सकेको थिएन । अब भने पूर्णरूपमा सञ्चालनमा आउने भएको कम्पनीले बताएको छ ।


