डुब्यो टेस्लाभन्दा धेरै ईभी बेच्ने कम्पनी !

काठमाडौं । चिनियाँ बजारमा सर्वाधिक धेरै ईभी बेच्ने रेकर्ड बनाएको ‘लेटीन’ ब्राण्डले बैंकरप्सी फाइल गरेको छ । सन् २०१६ देखि २०१८ सम्म निरन्तर विश्वकै सर्वाधिक धेरै ईभी उत्पादन र बिक्री गर्ने ब्राण्ड बनेको लेटीनले बैंकरप्सी फाइल गरेको हो ।

एलएसईभी (लो-स्पीड इलेक्ट्रीक भेहिकल) उत्पादनमा महारथ हासिल गरेको लेटीनले सन् २०१६ मा १ लाख ५० हजार यूनिट, २०१७ मा २ लाख १० हजार यूनिट र २०१८ मा २ लाख ८७ हजार यूनिट ईभी बिक्री गरेको थियो । सन् २०१८ को बिक्री ईभी बजारको लागि आफैमा एउटा रेकर्ड थियो ।

अमेरिकी ईभी जाइन्ट टेस्लाले सन् २०१६ मा विश्वभर ७६ हजार यूनिट कार बिक्री गरेको थियो । तर, लेटीनले त्यसको झण्डै दोब्बर १ लाख ५० हजार यूनिट बिक्री गर्न सफल भएको थियो । लेटीनले तीन वर्षमा ६ लाख ४७ हजार यूनिट ईभी बिक्री गर्दै आफुलाई बलियो कम्पनीको रुपमा स्थापित गरेको थियो ।

अहिले निकै पावरफुल ईभीमा कम्पनीहरु गइसकेको र ग्राहकको रोजाईमा पनि लो स्पीड भेहिकल पर्न छाडेसँगै लेटीन समस्यामा परेको थियो । कम्पनीले बनाउने ईभीको टप स्पीड ७० किलोमिटर प्रतिघन्टा मात्रै थियो ।

सन् २०१८ मा सरकारले लो स्पीड भेहिकलको सुरक्षा मापदण्डमा कडाई गरेसँगै यो कम्पनी समस्या परेको हो । त्यसपछि पेट्रोलियम पदार्थबाट चल्ने कार र ठूला ईभी बनाउन भन्दै कम्पनीले १.४५ विलियन युवान खर्च गरेर यामा मोटर्स एक्वायर गरेको थियो ।

त्यसपछि कम्पनीले आई सिरिजमा विभिन्न तीन मोडल बजारमा ल्यायो । ती मोडलले बजार पाउन सकेन । त्यसपछि कम्पनीले इटालियन डिजाइन हाउस पेनानफेरिनामा डिजाइन गराएर ह्याचव्याक कार बजारमा थियो ।

सन् २०२१ मा बजारमा आएको यो ह्याचव्याक एक वर्षमा ३० हजार यूनिट बिक्री पनि भयो । तर, कम्पनी निरन्तर घाटामा गइरहेको थियो । सन् २०२३ को सुरुवातमा नै बिभिन्न आर्थिक मुद्दा खेपिरहेको कम्पनीले बैंकरप्सी फाइल गरेको हो ।


Back_to_top