सेल्टोस र क्रेटा दुबैको नयाँ मोडल आउने

काठमाडौं । चर्चित एसयूभी हुन्डाई क्रेटा र किया सेल्टोस दुबै मोडल नयाँ अपडेटसहित आउने भएको छ । मिडसाइज एसयूभी सेग्मेन्ट अन्तर्गतका यी दुई गाडी डिजाइनसँगै मेकानीकल अपडेट सहित आउने भएको हो ।

हुन्डाई मोटर ग्रुप अन्तर्गतका दुई ब्राण्ड किया र हुन्डाईले आफ्नो सफल मोडलमा अपग्रेड गर्न लागेका हुन् । दक्षिण कोरियाली कार ब्राण्ड हुन्डाईले क्रेटाको सेकेन्ड जेनेरेशन मोडल सन् २०२०मा सार्वजनिक गरेको थियो । आकर्षक फिचर र तीन इन्जिन अप्सन उपलब्ध क्रेटा फेसलिफ्टमै ब्यापक परिवर्तन हुने भएको हो ।

नयाँ क्रेटामा रिडिजाइन गरिएको फ्रन्ट ग्रिल, हेडल्याम्प कम्बो दिइएको हुनेछ । यसमा हालै सार्वजनिक भेन्यु फेसलिफ्टमा प्रयोग गरिएको कनेक्टेड टेललाइट डिजाइन समावेश हुनेछ । कम्पनीले सुरक्षाका लागि इक्विपमेन्ट लिस्टमा एडास फिचर्स पनि उपलब्ध गराउने अनुमान गर्न सकिन्छ ।

अर्को ब्राण्ड कियाले भारतमा पहिलो उत्पादन गरेको मोडल सेल्टोस २०१९मा ल्याएको थियो । कम्पनीले भारतीय बजारका लागि सेल्टोसमा सामान्य परिमार्जन गर्ने रिपोर्टहरु बाहिर आएका छन् । नयाँ सेल्टोसमा रहने हेडलाइटको डिजाइन र टेललाइट प्रयोग हुनेछ ।

यसमा रहेको फ्रन्ट र रियर बम्पर पनि पुनः डिजाइन भएको हुनेछ । कम्पनीका अनुसार किया सेल्टोस एसयूभीमा पानारोमीक शनरुफ र एडास फिचर उपलब्ध हुनेछ ।

यी दुवै गाडीमा मेकानीकल परिवर्तन हुने बताइएको छ । यसअघि १.४ लिटर टर्बो इन्जिन रहेको दुबै मोडलमा अब १.५ लिटर टर्बो इन्जिन रहनेछ । उक्त इन्जिनले १६० पीएस पावर प्रदान गर्नेछ । त्यस्तै, अहिले उपलब्ध १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल र १.५ लिटर डिजेल इन्जिनले नै निरन्तरता पाउने छ ।

दुवै मोडल बजारमा कहिले आउँछ भन्ने एकिन विवरण बाहिर नआएपनि किया सेल्टोस फेसलिफ्ट आगामी महिनाबाटै बजारमा आउने अपेक्षा गरिएको छ । त्यस्तै, हुन्डाई फेसलिफ्ट क्रेटा भने आगामी २०२४ को सुरुमा नै सार्वजनिक हुने अनुमान गरिएको छ ।


Back_to_top