काठमाडौं । सरकारले बजेटमा ५० देखि १०० किलोवाटसम्मका ईभीमा ५ प्रतिशत भन्सार बढाउनुको साथै १० प्रतिशत अन्तःशुल्क लगाएको कारण ईभीको मूल्य बढ्ने भएको छ । एकै पटक २० प्रतिशत मूल्य बढ्ने अवस्था आएसँगै ईभी किन्ने योजना बनाएकाहरुलाई समस्या हुनु स्वभाविक हो ।
तर, कम्पनीहरुले जेठ लागेपछि ल्याएका करिब १ हजार एक सय यूनिट ईभी पुरानै मूल्यमा बिक्री गर्ने जनाएका छन् । सबै कम्पनीले ईभीमा कर बढ्ने आँकलन यसअघि नै गरिसकेका थिए । त्यहि कारण सप्लाई पाएसम्म गाडी मगाएको उनिहरुको आयातले पनि देखाउँछ । उनिहरुले ल्याएको अधिकांश ईभी पहिल्यै बुकिङ रहेको कम्पनीहरुको भनाइ छ ।
जेठमा सबैभन्दा धेरै ईभी एमजीले ल्याएको छ । कम्पनीले ५ सय यूनिट ईभी ल्याएको र ती मध्ये आधाभन्दा धेरै ग्राहकलाई हस्तान्त्रण गरिसकेको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले जनाएको छ ।
‘सुरुमा बुकिङ गरेर बसेका अधिकांश ग्राहकलाई गाडी हस्तान्त्रण गरिसकेका छौं । अब केही बाँकीलाई पनि गाडी दिदैछौं । त्यसमा पनि जेठको पहिलो र दोस्रो साता बुकिङ लिएका ग्राहकलाई पनि गाडी तत्काल दिने हाम्रो प्रयास भइरहेको छ’, पारामाउन्ट स्रोतले मेरोअटोसँग भन्यो ।
अहिले आएको सबै गाडी पुरानै मूल्यमा बिक्री गरिने कम्पनीको भनाई छ । दुई वर्षअघि पनि पारामाउन्टले बजेटमा कर बढेपनि पुरानै मूल्यमा ग्राहकलाई गाडी बिक्री गरेको थियो ।
त्यसैगरी, बीवाइडीको पनि बुकिङ गरेर बसेका ग्राहकको लामो सूची रहेको कम्पनीको भनाइ छ । हुन्डाई कोना, टाटा नेक्सन र नेटा भी पनि करिब ४ सय यूनिट माथि आयात भएको देखिन्छ । कम्पनीहरुले यी गाडीको डेलिभरी सकिएपछि मात्रै नयाँ मूल्य बाहिर ल्याउने तयारी गरिरहेको बुझिएको छ ।
सिजी मोटर्सका सीइओ हेमन्त अग्रवाल भन्छन्, ‘अहिले भएका गाडी विस्तारै ग्राहकलाई डेलिभरी गर्दैछौं । नयाँ गाडी आउने थालेपछि नयाँ मूल्य घोषणा गर्ने विचारमा छौं ।’
गाडी बिक्रेतासँग अहिले भर्खरै गाडी आयात गरेको कारण बिक्रीको लागि अझै केही महिना लाग्ने देखिन्छ । बैंकिङ सहज नहुनु र बजारमा ईभीमा धेरै छनोट उपलब्ध हुने क्रममा रहेको कारण बिक्री केही सुस्त हुनसक्ने छ ।


