काठमाडौं । लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले हुन्डाई आयोनिक फाइभको मूल्य १४ लाख रुपैयाँले घटाएको छ । कम्पनीले यसअघि १ करोड १६ लाख ९६ हजार मूल्य तोकेर बिक्री गर्दै आएको आयोनीक ५ को नयाँ मूल्य १ करोड २ लाख ९६ हजार बनाएको हो ।
प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनीक ५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको हो ।
आयोनीक ५ अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी हो । यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ ।
यूरोप, अमेरिकी र एशियाली देशमा बिक्री हुँदै आएको आयोनीक ५ मा ५८ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा १२५ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ ।
आफ्नो आवश्यकता अनुसार पूर्ण फोल्ड गर्न किल्ने सिट, अगाडि र पछाडि सार्न मिल्ने आमरेष्ट, ३० प्रतिशत पातलो सिट, रिसाइकल गरिएको प्लास्टीक वोटल र फेब्रिकबाट बनेको इन्टेरियर यसको मूल्य विशेषता हो ।
हुन्डाईले ३००० एमएमको लामो ह्वीलवेस दिएको कारण यो गाडी निकै स्टेवल र आरामदायी रहेको छ । सन् २०२२ फेब्रुअरीमा यो कार नेपाल आएको थियो । सुरुमा नेपाल आउँदा यसको मूल्य ८१ लाख ९६ हजार रुपैयाँ तोकिएको थियो ।


