काठमाडौं । विश्वभरका वातावरण विज्ञ र कम्पनीको सेयर होल्डरबाट आएको दवावपछि टोयोटाले ईभी उत्पादनमा महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । कम्पनीले सिंगल चार्जमा १५ सय किलोमिटरसम्म रेन्ज दिने गाडी ल्याउने योजना अगाडि ल्याएको हो ।
जापनीज अटोमोवाइल जायन्ट टोयोटा अहिले पनि विश्वमा नै सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी हो । अन्य धेरै ब्राण्डले ईभीमा प्रस्ट योजना बनाएर काम गरिरहेको समयमा टोयोटाले आलटाल गरिरहेको भन्दै उसको सर्वत्र आलोचना सुरु भएको थियो ।
कम्पनीले हालै एक कार्यक्रम आयोजना गरी सन् २०२६ सम्ममा सिंगल चार्जमा ९६५ किलोमिटरसम्म रेन्ज दिने गाडी ल्याउने र सन् २०२८ सम्ममा सिंगल चार्जमा १४४८ किलोमिटर रेन्ज दिने ईभी बजारमा उतार्ने योजना प्रस्तुत गरेको हो ।
टोयोटाको नयाँ प्लान अनुसार सन् २०२६ मा पहिलो ‘नेक्ट जेनेरेशन ईभी’को रुपमा लेक्सस सार्वजनिक गर्नेछ । यसमा नेक्ट जेनेरेशन लिथियम आयोन ब्याट्री प्रयोग गर्ने उसले जनाएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा करिब १ हजार किलोमिटर रेन्ज दिन्छ ।
कम्पनीले सार्वजनिक गरेको योजना अनुसार सन् २०२६/२७ बाट विपोलार लिथियम आयोन फस्फेट ब्याट्रीको उत्पादन शुरु हुनेछ । यसको मूल्य अहिलेको भन्दा ४० प्रतिशतले कम हुने उसले प्रक्ष्येपण गरेको छ । साथै, एड्भान्स प्रविधिको यो ब्याट्रीको रेन्जसमेत १० प्रतिशतले बढ्ने टोयोटाले उल्लेख गरेको छ ।
कम्पनीले नयाँ टेक्नोलोजीको सहयोगमा सन् २०३० सम्ममा १७ लाख ईभी उत्पादन गर्नेछ । कम्पनीले नयाँ आर्किटेक्चरको समेत प्रस्ताव गरेको छ । जसमा नयाँ प्रविधिको सोलिड स्टेट ब्याट्रीको प्रयोग हुनेछ ।
टोयोटाले सन् २०२८ सम्ममा सोलिड स्टेट ब्याट्रीको प्रयोग गर्ने उल्लेख गरेको छ । सोलिड स्टेट प्रविधिको ब्याट्रीले अहिलेको तुलनामा ५० प्रतिशत रेन्ज दिने छ । यसको प्रयोगपछि १ हजार किलोमिटर रेन्ज दिने साइजको ब्याट्रीले १५ सय किलोमिटरसम्म रेन्ज दिनेछ ।

