काठमाडौं । अहिले विद्युतीय सवारी (ईभी) नेपालमा फेसन बनेको छ । गाडी किन्नु छ भन्यो भने तत्काल सल्लाह दिनेहरूले ईभी किनुस् भन्छन् । यसको फाइदा वातावरण प्रदूषण नगर्ने, थोरै पैसामा यात्रा गर्न सकिने । पार्टस् धेरै नलाग्ने भएको कारण खर्च कम आउने आदि सुझाव सित्तैमा पाइन्छ ।
ईभी किनेर ढुक्कले चलाउन सकिने मोडलहरू बजारमा उपलब्ध छन् । अहिले एमजी, बीवाइडी, हुन्डाई, टाटा जस्ता ब्राण्डले बिक्री गर्दै आएका ईभी किन्न हिच्चकिचाउनु पर्दैन । किन भने यी कम्पनीले नेपालमा ल्याएर बिक्री गरेका गाडीलाई दिने सेवाको लागि आवश्यक पूर्वाधार तयार गरेका छन् ।
तर, चीनबाट मिनी ईभीको नाममा आयात भएका धेरै ब्राण्डले बिक्रीपछिको सेवाको लागि कुनै पूर्वाधर बनाएका छैनन् । अझ, भनौं सुरूआतमा २०/४० यूनिट ईभी बिक्री गरेका ब्राण्डहरूले बिक्री नै बन्द गरेका छन् । ती ब्राण्डको सेवा नपाएर धेरै ग्राहक छटपट गर्न थालेका छन् ।
विगतमा आएको साना ईभी डेरी, दिगो जस्ता ब्राण्डले केही यूनिट गाडी बिक्री गरे । अहिले दिगोले ठूला कर्मशियल गाडी मात्रै बिक्री गर्दै आएको छ । उसले बेचेको सानो ई-८ कारको लागि कुनै पार्टस् चाहिए, महंगो मूल्य तिरेर महिनौं कुर्नुपर्ने अवस्था छ । डेरीको त के कुरा उसले बिक्री नै बन्द गरिसकेको छ ।
त्यसैले यदि तपाईंं पनि सानो मिनी ईभी किन्ने योजना बनाउनु भएको छ भने कम्तीमा यी चार कुरा एकीन गरेर मात्रै किन्नु होला ।
१. ब्याट्री र मोटर : विद्युतीय कारमा हुने महत्वपूर्ण कुरा भनेकै ब्याट्री र मोटर हो । तपाईंले किन्न लाग्नु भएको मिनी ईभीमा कुन ब्राण्डले उत्पादन गरेको ब्याट्री र मोटर छ एकीन गर्नु होला । यदि तपाईंको ईभीमा लोकल कम्पनीको मोटर र ब्याट्री दिइएको छ भने त्यो ईभी नकिन्दा हुन्छ ।
२. रेन्ज र तान्ने क्षमता : मिनी ईभी भएको कारण करिब २०० किलोमिटर रेन्ज दिने कार उत्कृष्ट मान्न सकिन्छ । यदि त्यो रेन्ज १५० नै भए पनि ठीक हुन्छ । तर, दाबी गरिएको रेन्जमा १५ प्रतिशतसम्म यताउता हुँदा फरक पर्दैन ।
अर्को महत्वपूर्ण विषय गाडीले उकालोमा तान्छ वा तान्दैन भन्ने हो । उकालो बाटोमा पीकपावर ३० किलोवाटभन्दा कम क्षमताका मोटर भएका मिनी ईभीले तान्दैन । यदि तपाईंले सानो ईभी किन्ने योजना बनाउनु भएको छ भने आफ्नो सपरिवार चढेर नगरकोट, डाँडागाउँ, ककनी वा त्यस्तै हल्का उकालो भएको ठाँउमा टेष्ट ड्राइभ गरेर मात्रै किन्नु होला ।
३. सुरक्षा : साना सिटी कारहरू सुरक्षा मापदण्ड पूरा गरेका हुँदैनन् । यी गाडीहरू कुनै पनि क्र्यास टेष्टमा समावेस भएका हुँदैनन् । त्यसैले तपाईंले किन्ने मिनी ईभीमा एयरब्याग, एबीएस, डिस्क ब्रेक, हिल होल्ड एसिस्ट, रिभर्स क्यामेरा, पार्किङ सेन्सर जस्ता फिचर खोज्नु आवश्यक हुन्छ ।
४. बिक्रीपछिको सेवा : माथि पनि बिक्रीपछिको सेवाको विषयमा हामीले चर्चा गरेका छौं । यदि तपाईंले किन्न खोजेको ब्राण्ड राम्रो छ, तर उसँग सर्भिस दिने क्षमता छैन भने त्यो ईभी नकिन्दा हुन्छ । त्यसैले आफूले किन्ने गाडी बिक्रेताको तयारी चित्त बुझ्दो छ वा छैन एकिन गर्नुपर्छ ।
माथि, उल्लेखित चार विषयमा एकीन नगरिकन तपाईंले बजारमा पाइने साना ईभी किन्नुभयो भने, त्यसले तपाईंको दुःखको कमाइ त गुम्छ नै, दुःख पनि त्यतिकै पाउनु हुन्छ । त्यसैले बिक्रेतासँग सवाल जवाफ गर्दै ढुक्क हुने अवस्था नआई त्यस्ता साना ईभी नकिन्दा राम्रो हुन्छ ।


