काठमाडौं । चीनको मुख्य अटोमोवाइल कम्पनी मध्यको एक चांगनको ‘न्यू इनर्जी भेहिकल ब्राण्ड’ दिपलले स्थानिय बजारमा नयाँ एसयूभी लन्च गरेको छ । एस-७ नाम दिइएको एसयूभी ब्याट्री इलेक्ट्रीक भेहिकल र प्लगइन हाइब्रिड पेट्रोल इन्जिन गरी दुई फरक इन्जिन अप्सन सहित लन्च भएको हो ।
टेस्लाको मोडल वाईसँग सिधा प्रतिस्पर्धा गर्ने भनिएको यो एसयूभीको मूल्य भने टेस्ला मोडल वाईभन्दा आधा नै सस्तो छ । यसको मूल्य २१ हजारदेखि २४ हजार डलर तोकिएको छ । जबकी टेस्ला मोडल वाईको ४७ हजारदेखि ५० हजार डलरसम्म रहेको छ ।
मिडसाइज एसयूभीको सेग्मेन्टमा रहेको यो ईभीको लम्बाई ४७५० एमएम, चौडाई १९२१ एमएम र उचाई १६२५ एमएम छ । कम्पनीले यसमा २८९० एमएम लामो ह्वील वेस दिएको छ ।
दिपल एस-७ ब्याट्री ईभीमा रियर ह्वील ड्राइभ मोटर पाउन सकिन्छ । यसमा रहेको मोटरले क्रमश १६० किलोवाट र १९० किलोवाट पावर तथा ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो एसयूभीले जम्मा ६.७ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन सक्छ ।
त्यस्तै, प्लगइन हाइब्रिड भर्सनमा भने १.५ लिटर क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ९४ हर्सपावर जेनेरेट गर्छ । त्यस्तै यसमा रहेको इलेक्ट्रीक मोटरले भने १७५ किलोवाट तथा ३२० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
प्लगइन हाइब्रिड भर्सनमा क्रमशः १८.९९ र ३१.७३ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । इलेक्ट्रीक मोडमा मात्रै चलाउँदा यो एसयूभीले १२१ र २०० किलोमिटरसम्म रेन्ज दिन्छ ।
प्योर ईभी भर्सन पनि दुई फरक साइजको ब्याट्रीमा उपलब्ध भएको छ । एउटा ६६.८ र अर्को ७९.९७ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको ब्याट्री दिएको छ । यसको रेन्ज क्रमशः ५२० तथा ६२० किलोमिटर हुने कम्पनीको दावी छ ।
सन् २०२२ को जुलाईमा लन्च भएको चांगनका दीपल ब्राण्डले सन् २०२३ सम्ममा २ लाख यूनिट ‘न्यू इनर्जी भेहिकल’ बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीले सन् २०२२ को ५ महिनामा ३३ हजार ५८५ वटा गाडी बिक्री गरिसकेको छ ।

