काठमाडौं । टाटा मोटर्सको इलेक्ट्रीक ह्याचव्याक टियागो ईभी यहि महिना नेपालमा बिक्री सुरु हुने भएको छ । नेपालको लागि टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो ईभी नेपालमा बिक्री सुरु गर्न लागेको हो ।
‘हामीले जुलाई मध्येबाट नेपालमा बिक्री सुरु गर्ने योजना बनाएका छौं । ढिलामा जुलाई अन्तिम सातासम्ममा बिक्री सुरु भइसक्ने छ’, सिप्रदी स्रोतले मेरोअटोसँग भन्यो ।
टाटा टियागो ईभी रेगुलर आईसी इन्जिन भएको टियागोमा नै जीपट्रोन प्रविधि प्रयोग गरेर तयार पारिएको मोडल हो । कम्पनीले ईभीमा विशेष कलर र अगाडिको भागमा ईभी स्टाइलको प्रयोग गरेको छ ।
टाटाले भारतीय बजारमा टियागोलाई २ ब्याट्री अप्सनमा ल्याएको छ । नेपाली बजारमा एउटा मात्रै ब्याट्रीमा आउँछ वा दुबै अप्सन उपलब्ध हुन्छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन । टियागोमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री दिएको छ । सानो ह्याचव्याक भएपनि यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ ।
यसलाई डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सामान्य होम चार्जरले चार्ज गर्दा भने फुलचार्ज गर्नका लागि ८ घण्टा लाग्ने कम्पनीको भनाई छ ।
कम्पनीका अनुसार टियागो ईभीले २४ किलोवाट आवरको ब्याट्री प्याक भर्सनले एक पटकको फुलचार्जमा ३१५ किलोमिटर र १९.२ किलोवाटआवर ब्याट्री प्याक भर्सनले २५० किलोमिटरको रेन्ज दिनेछ ।
टाटा टियागो ५० किलोवाट क्षमताको मोटरमा नेपाल आउने छ । नेपाल सरकारले ५० किलोवाटसम्मका गाडीलाई १० प्रतिशत मात्रै भन्सार लगाएको छ । यसको अधिकतम पावर ६९ पीएस र टर्क १७० न्यूटन मिटर रहने छ ।

टियागोले जम्मा ५.७ सेकेण्डमा ६० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ । यसमा सिटी र स्पोर्टस गरी दुई ड्राइभ मोड पाउन सकिन्छ । टियोगोमा ४ लेबलको रिजेनेरेसन ब्रेकिङ मोड छ ।
टाटाले यो ह्याचव्याकमा ४५ थरी फिचर रहेको जी-कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर यसमा पाउन सकिन्छ ।
टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।

