काठमाडौं । सरकारले फेरी एक पटक सवारीसाधनको लागि नयाँ प्रदुषण मापदण्ड लागु गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसअघि वन तथा वातावरण मन्त्रालयले २०७९ साल बैशाखदेखि नै नयाँ प्रदुषण मापदण्ड लागु हुने बताए पनि मन्त्री फेरिएसँगै प्रक्रिया रोकिएको थियो ।
बिक्रम संम्बत २०६९ साल कार्तिकमा लागु भएको ‘नेपाल प्रदुषण मापदण्ड-३’ पछि अर्को नयाँ मापदण्ड बनाउन सकेको छैन । ११ वर्षअघि लागु भएको मापदण्ड परिवर्तनमा ढिलाई हुँदा सरकार वातावरण प्रति नै अनुदार भएको प्रस्ट देखिन्छ ।
अहिले मन्त्रालयमा नयाँ मन्त्रीको रुपमा बिरेन्द्र कुमार महतो आएका छन् । उनले मन्त्रालयको कार्यभार सम्हालेसँगै नयाँ प्रदुषण मापदण्डको काम अगाडि बढेको मन्त्रालयका प्रबक्ता मेघनाथ काफ्लेले बताए ।
‘हामीले नयाँ प्रदुषण मापदण्ड यसअघि नै तयार गरेका हौं । मन्त्रालयले कानुन मन्त्रालय हुँदै मन्त्रीपरिषदमा लगेको पनि थियो । केही कारण त्यतिवेला लागु हुन सकेन । त्यसपछि सरकार फेरियो सबै काम रोकियो । अहिले नयाँ मन्त्री ज्यू आएसँगै काम अगाडि बढेको छ’, काफ्लेले मेरोअटोसँग भने ।
नेपालमा भारत, जापान, चीन, कोरिया, थाइल्याण्ड लगायतका देशमा बनेका गाडी नेपाल ल्याएर बिक्री बितरण गर्दै आएका छन् । बिभिन्न देशमा बनेको यूरो ३ देखि भारतमा बनेको बीएस ३ देखि ६ मापदण्ड साधन ल्याएका छन् ।
नयाँ मापदण्डमा उक्लनै पर्ने बाध्यता रहेको भन्दै मन्त्रालयले एकै पटक नेपाल प्रदुषण मापदण्ड ३ बाट ६ मा उक्लन लागेको हो । अब बन्ने नयाँ मापदण्ड क्रमशः लागु गर्दै जाने कम्पनीले जनाएको छ ।
के हो नेपाल प्रदुषण मापदण्ड ?
नेपाल सरकारले सवारी साधन उत्पादन र आयातलाई मध्यनजर गर्दै प्रदुषण मापदण्ड तोक्ने गरेको छ । यसले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनमा प्रयोग हुने इन्जिनबाट उत्र्सजन हुने प्रदुषणलाई नियन्त्रण गर्ने काम गर्छ । हरेक सावरी साधन संचालन गर्दा निस्कने धुँवामा प्रदुषण मापन गरिन्छ ।
नेपाल प्रदुषण मापदण्ड ३ अनुसारको इन्जिन प्रयोग गरिएको कुनै पनि सवारी साधनबाट निस्कने धुँवामा सल्फरको मात्रा ५० पीपीएम (पार्टस पर मिलियन) रहेको हुन्छ भने अब लागु हुने नयाँ मापदण्डमा इन्जिनबाट निस्कने धुँवामा १० पीपीएम मात्र रहने व्यवस्था गरिएको छ ।
पुरानो मापदण्डको तुलनामा नयाँ मापदण्डको डिजेल इन्जिनले प्रबाह गर्ने सल्फरको मात्रा ८० प्रतिशत कम हुने छ । यसका साथै डिजेल इन्जिनबाट उत्पादन हुने नाइट्रोजन अक्साइड तथा पार्टिकुलेट म्याटरको मात्रामा धेरै कम गरिएको छ । त्यस्तै पेट्रोल इन्जिनबाट उत्र्सजन हुने हाइड्रोकार्वन तथा कार्बन मोनोअक्साइकड जस्ता हानिकार ग्यास पनि कम हुनेछ ।


