काठमाडौं । साँग्रिला मोटर्स प्रालिले सिट्रोन सीथ्री इलेक्ट्रीक डेलिभरी दिने तयारी गरिरहेको छ । कम्पनीले एक महिना अघि बुकिङ खुल्ला गरेको इलेक्ट्रीक क्रसओभर १०० यूनिट बुकिङ भएको जनाएको हो ।
कम्पनीले एक विज्ञप्ती जारी गर्दै इलेक्ट्रीक सीथ्रीको बुकिङ १०० यूनिट पुगेको र चाँडै डेलिभरी सुरु गर्न लागेको उल्लेख गरेको छ । कम्पनीले सिट्रोन सीथ्री इलेक्ट्रीकको सुरुवाती भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिएको थियो । यसको टप भेरियन्टको मूल्यभने ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
‘हामीले अहिले राम्रो संख्यामा बुकिङ पाइरहेका छौं । धेरै ग्राहकले पहिला चालाएर हेरेपछि मात्रै बुकिङ गर्छु भनेका छन् । त्यसैले अब चाँडै गाडी ल्याएर डेलिभरी र टेस्ट ड्राइभ सुरु गर्दैछौं’, कम्पनीका निर्देशक जय गोल्छाले मेरोअटोसँग भने ।
यसअघि बुकिङ गर्न चाहने ग्राहकसँग १ लाख रुपैयाँसम्म ‘टोकन मनी’ लिएर सिट्रोन सीथ्री बुकिङ लिइएको कम्पनीले जनाएको छ ।
सिट्रोनको ई-सीथ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । फ्रन्टह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ ।
सिट्रोन ई-सीथ्रीको मोटरले यसलाई ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ । यो ईभीको टप स्पीड क्षमता १०७ किलोमिटर प्रतिघण्टा छ । सिट्रोन ई-सीथ्रीमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।


