काठमाडौं । यातायात कार्यालयमा लाग्ने लामो लाइन अन्त्य गर्ने प्रयासमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लागेको ट । मन्त्रालयले सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनमार्फत नै भुक्तानी गर्न सकिने बनाएको हो ।
हिजो बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक कार्यक्रमका बीच उक्त अनलाइन प्रणालीको सुभारम्भ गरेका हुन् । देशभर एकै पटक यो सेवा संचालनमा ल्याउँदा टेक्नीकल समस्या आउन सक्ने भन्दै मन्त्रालयले पहिलो चरणमा गण्डकी प्रदेशबाट यो सेवा सुरु गरेको हो । यहाँ सफल प्रयोगपछि क्रमशः अन्य प्रदेशमा लागू गरिने छ ।
मन्त्रालयले सुरु गरेको सेवासँगै सवारी चालक अनुमतिपत्रको परीक्षा, वर्ग थप र नवीकरणको आवेदन तथा अनलाइन राजस्व भुक्तानी सहितको काम विद्युतीय सेवाबाट लिनसकिने छ ।
सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री प्रकाश ज्वालाले आगामी दिनमा यातायात व्यवस्थासँग जोडिएका सम्पूर्ण काम कारबाहीलाई अनलाइन प्रणालीबाट संचालन हुने बताए ।
‘यातायात क्षेत्रमा हुने सबै प्रकारका कामलाई हामी अनलाइन माध्यमबाट गर्न सकिने गरी काम गरिरहेका छौं । कुनै पनि सेवाग्राही यातायात सम्बन्धी कामको लागि कार्यालय धाउनु पर्ने छैन । यसले विचौलिया प्रवृत्तिको अन्त्य गर्ने र यातायात कार्यालयमा हुने ढिलासुस्तीको समस्या हट्ने छ’, मन्त्री ज्वालले भने ।


