काठमाडौं । फ्रेन्च निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्री इलेक्ट्रीक नेपाल आएको छ । साँग्रिला मोटर्सले नेपाल ल्याएको सीथ्री पेट्रोल कारभन्दा खासै फरक देखिदैन ।
कम्पनीले तीन स्थानमा दिएको ई ब्याचले मात्रै यसलाई पेट्रोलभन्दा फरक देखाएको छ । कम्पनीले सोमबारबाट टेष्ट ड्राइभ सुरु गर्ने तयारी गरेको शोरुममा रहेका सेल्स टीमले जानकारी दिएको छ ।

‘हामीले आजबाट शोरुममा डिस्प्ले गरेका छौं । भोलिदेखि ग्राहकलाई टेष्ट ड्राइभ गराउने योजना बनाएका छौं । भोलिबाट शोरुममा आएर टेष्ट ड्राइभ गर्न चाहने जो केहीले टेष्ट ड्राइभ गर्न सक्नेछन्’, थापाथली शोरुममा रहेका सेल्स टीमले मेरोअटोसँग भन्यो ।

कम्पनीले सिट्रोन सीथ्री इलेक्ट्रीकको सुरुवाती भेरियन्ट ‘लाइभ’ मात्रै अहिले नेपाल ल्याएको छ । यसको टप भेरियन्ट ‘फिल’ केही समयपछि मात्रै आउने छ । लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको फिल भेरियन्ट अहिल्यै नेपालमा उपलब्ध नभएपनि यसको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिसकेको छ ।

सिट्रोनको ई-सीथ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । यसमा रहेको ब्याट्रीलाई सधैं डिसी फास्ट चार्जरको सहयोगले चार्ज गर्दा पनि फरक नपर्ने सिट्रोनले जनाएको छ ।

फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सीथ्रीमा निकै सानो ४२ किलोवाट क्षमताको मोटर दिइएको छ । यसमा रहेको मोटरले अधिकतम ५७ हर्स पावर र १४३ एनएम टर्क प्रदान गर्छ ।

सिट्रोन ई-सीथ्रीको मोटरले यसलाई ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ । यो ईभीको टप स्पीड क्षमता १०७ किलोमिटर प्रतिघण्टा छ । सिट्रोन ई-सीथ्रीमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।

नेपालमा बुकिङ खुल्ला भएदेखिनै यसको मूल्य धेरै भएको भन्दै शोसल मिडियामा चर्को बहस चलिरहेको थियो । अब कम्पनीले गाडी नै बिक्री सुरु गरेको कारण यसले कस्तो ब्यापार पाउला भन्ने धेरैको चासो हुन सक्छ ।



