काठमाडौं । क्रस एक्स कम्पनीको क्रस-एक्स २५० को मूल्य घटेको छ । कम्पनीले बजेट अघिको मूल्यमा ५० हजार रुपैयाँले मूल्य घटाएको हो ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत २०० सीसी माथिका मोटरसाइकलमा करका दर परिवर्तन गरेको थियो । २०० सीसी माथिका मोटरसाइकलमा अन्त:शुल्क २० प्रतिशतले घटेसँगै कम्पनीले आफ्नो २५० सीसी क्षमताको मोटरसाइकलको मूल्य घटाएको हो ।
क्रस-एक्सको मुख्य प्रतिस्पर्धी ब्राण्ड क्रसफायरले यसअघि नै आफ्ना २५० सीसीका मोटरसाइकलमा ७१ हजार रुपैयाँसम्मले घटाएको थियो ।
क्रस एक्सले अपग्रेडसहित ल्याएको नयाँ क्रसएक्स २५० आरको नयाँ मूल्य ८ लाख ४५ हजार निर्धारण गरेको हो । यसअघि यसको मूल्य ८ लाख ९५ हजार रुपैयाँ थियो ।
अपग्रेड भएर आएको २५० आरमा यूरो ५ इन्जिन रहेको छ । यसअघि बिक्री भइरहेको २५० आरमा कार्बुरेटर इन्जिन थियो । मूल्य घटेर आएको नयाँ मोटरसाइकलमा भने इएफआई इन्जिन छ ।
नेपालका लागि क्रसएक्सको आधिकारिक वितरक बाइकर्स नेपालले बिक्री गर्दै आएको क्रसएक्समा जीपीएस फिचर समेत थप गरिएको छ ।
२५० सीसी सेग्मेन्टमा उपलब्ध क्रस-एक्समा २४९.६ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ । उक्त इन्जिनले अधिकतम ३२ हर्स पावर प्रदान गर्छ ।


