काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार निर्माता टेस्लाको ड्रिम प्रोजेक्ट ‘साइबर ट्रक’को पहिलो यूनिट तयार भएको छ । कम्पनीले लामो परिक्षणपछि यसलाई तयार गरेको हो ।
टेस्लाको आधिकारी टुइटर एकाउण्टबाट पहिलो इलेक्ट्रीक पीकअप ‘साइबर ट्रक’को तस्बिर सार्वजनिक भएको हो । अमेरिकाको टेक्सासमा रहेको गिगा फ्याक्ट्रीमा यसको उत्पादन भएको कम्पनीले जनाएको छ ।
टेस्लाले सार्वजनिक गरेको फोटोलाई टेस्लाका मालिक इलन मस्कले समेत बधाई दिदै ‘रि टुइट’ गरेका छन् । टेस्लाले सार्वजनिक गरेको फोटोमा साइबर ट्रकको पुरै आकृति भने देखिदैन । पहिलो उत्पादन भएर होला उक्त ईभीको वरिपरी कामदारहरु उभिएको कारण पुरै गाडी देखिएको छैन ।
उक्त तस्बिरमा ग्लासरुफ, अगाडिको विण्ड सिल्ड, ठूलो साइजको वाइपर, ट्रकवेड र साइड विण्डो देखिएको छ । नयाँ तस्बिर र पहिलेको प्रोटोटाइप लगभग समान देखिन्छ ।
अमेरिकी बजारमा उच्च माग रहेको पीकअप ट्रकहरु विद्युतीय बनाउनुलाई टेस्लाको ठूलो उपलब्धी मानिएको छ । कम्पनीले वार्षिक साढे २ लाखदेखि ५ लाख यूनिटसम्म साइबर ट्रक वेच्ने लक्ष्य राखेको छ ।
साइबरट्रकलाई मजबुद बनाउन यसको च्यासिस ‘अट्रा हार्ड ३०-एक्स कोल्ड रोल्ड स्टेनलेस स्टील’को प्रयोग गरिएको बताइन्छ ।
टेस्लाको साइबर ट्रक अहिले बाटोमा गुडिरहेका ट्रकहरु भन्दा विल्कुलै फरक डिजाइनमा रहेको छ । यो ट्रकको डेलिभरीपछि बाटोमा सबैभन्दा धेरै फोटो खिचिएको गाडीको रुपमा रेकर्ड बनाउने कम्पनीको दावी छ ।
पीकअप ट्रकको उत्पादन सुरु भएता पनि आगामी सेप्टेम्बरबाट मात्रै डेलिभरी सुरु हुनेछ । यो गाडी बनाउन टेस्लालाई सबैभन्दा धेरै मेहेनत गर्नु परेको बताइन्छ ।
गत वर्षको नोभेम्बरसम्म सार्वजनिक भएको रिपोर्ट अनुसार टेस्लाको साइबर ट्रकको प्रि अर्डर १६ लाख यूनिट रहेको थियो ।


