काठमाडौं । सन् २०१० ताका नै नेपालमा विद्युतीय कार ल्याएर आफ्नो अलग पहिचान बनाएको महिन्द्रा यहाँको बजारमा कम्ब्याक गर्दैछ । कम्पनीले आफ्नो एसयूभीको मध्ययमबाट कम्ब्याक गर्न लागेको हो ।
सुरुवातमा रेभा र त्यसपछि इटुओ मोडल ल्याएर नेपालमा आफ्नो अलग पहिचान निर्माण गरेको महिन्द्राले अब भने एसयूभी लिएर आउन लागेको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउन लागेको एक्स्यूभी ४०० को सिधा प्रतिस्पर्धा एमजी जेडएस ईभी र टाटा नेक्सनसँग हुने देखिन्छ । यी एसयूभीहरुको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान छ ।
अहिले बजारमा उपलब्ध नेक्सन म्याक्सकै साइजको ब्याट्री र मोटरमा आउने एक्सयूभी ४०० एमजी जेडएसभन्दा सानो साइजको ब्याट्रीमा उपलब्ध हुनेछ । अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जीले नेपाल ल्याउने एक्सयूभी ४०० निकै राम्रा फिचर समावेस भएको मोडल हो ।
‘गाडी ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । सम्भवत साउन अन्तिमसम्ममा नेपाल आउने छ’, अग्नी इनर्जी स्रोतले भन्यो ।
ईभी किन्न चाहनेहरुको लागि आगामी नाडा अटो शो २०२३ मा एक्सयूभी ४०० राम्रो विकल्प हुने अनुमान गर्न सकिन्छ । महिन्द्राले आफ्नो सब फोर मिटर एसयूभी ‘एक्सयूभी ३००’को प्लेटफर्ममा यसलाई बनाएको हो ।

यो विद्युतीय एसयूभीको लम्बाई ४२०० एमएम, चौडाई १८२१ एमएम, उचाई १६३४ एमएम रहेको छ । यसमा २६०० एमएमको ह्वीलवेस रहेको छ ।
महिन्द्राले एक्सयूभी ४०० मा दुई ब्याट्री अप्सन दिएको छ । जसमा ३४.५ र ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा रहेको सानो ब्याट्रीले ३७५ किलोमिटर र ठूलो ब्याट्रीले ४५६ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । यी दुबै ब्याट्रीले ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्न सक्नेछन् ।
एक्सयूभी ४०० लाई ५० किलोवाटको चार्जरले चार्ज गर्दा ब्याट्रीलाई शून्यबाट ८० प्रतिशत चार्ज गर्न जम्मा ५० मिनेट लाग्ने कम्पनीको भनाई छ । यसलाई गाडीमा उपलब्ध ३.३ किलोवाटको होम चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १३ घण्टा लाग्छ । त्यस्तै ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा भने ६ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

