काठमाडौं । करिब १३ वर्षको विद्युतीय कार बिक्रीको इतिहास भएको नेपालमा सेकेन्ड ह्याण्ड बजारमा विद्युतीय कार किन बेचको सुरुवातसमेत हुन सकेको छैन । त्यसको मुख्य कारण मूल्याङ्कन गर्ने आधार ब्यवसायीहरुले नभेट्टाउनु हो ।
अहिले काठमाडौं उपत्यकामा मात्रै तीन दर्जन रिकन्डिसन ब्यवसायीहरु सेकेन्ड ह्याण्ड कारको ब्यापारमा छन् । तर, कुनैपनि कम्पनीले ईभीको मूल्याङ्कन गर्ने सुत्र फेला पार्न सकेका छैनन् ।
नेपालमा कार किन्नेले सवारीसाधनको रुपमा मात्र नभई लगानीको हिसावले पनि हेर्ने गरेको पाइन्छ । ४/५ बर्ष कार चढेपछि रिकन्डिसन हाउसमा मूल्य गराएर आवस्यक परेको खण्डमा नगद निकाल्न सक्छु भन्ने योजना धेरैले बनाएका हुन्छन् ।
अझ इन्ट्री लेवल सेग्मेन्टका सफल मोडलहरु बजारमा जानासाथ हानथाप नै हुने अवस्था थियो । विशेषगरी हुन्डाई र मारुती सुजुकीका कारहरु सेकेन्ड ह्याण्ड बजारमा सफल मानिदै आएका छन् ।
फेरिएको समय अनुसार नयाँ पेट्रोलबाट चल्ने कारको तुलनामा ईभी धेरै बिक्री हुन थालेका छन् । सन् २०१८ पछि बजारमा ठूला साइजका एसयूभी आएसँगै ईभीको क्रेज बढ्दो छ । ईभीमा सरकारले लगाएको न्यून कर, घरमै विजुलीबाट चार्ज गर्न पाइने, पेट्रोलको हाहाकार झेल्नु नपर्ने र संचालन खर्चसमेत कम भएको कारण ईभी बढ्ने बढेका हुन् ।
तपाईले पुरानो इलेक्ट्रीक गाडी बिक्री गरेर नगद निकाल्ने योजना बनाउनु भएको छ भने तत्काल सेकेन्ड ह्याण्ड बजारमा सम्भव छैन ।
सन् २०२१ पछि बजारमा टाटा मोटर्सले आफ्नो सबैभन्दा सफल मोडल नेक्सनलाई इलेक्ट्रीकमा ल्याएपछि बजारमा उछाल नै आयो । मानिसले कर छुटको बास्तविकता त्यसबाट बुझ्न पाए । ईभीको बिक्री राम्रो संख्यामा बढ्यो । अहिले बजारमा टाटा र टेस्लादेखि हुन्डाई, किया, नेटा, बीवाइडी, बीएमडब्लू, सिट्रोन, एमजी जस्ता ब्राण्डले नयाँ ईभी बिक्री गर्दै आएका छन् ।
गत आर्थिक वर्षमा २ हजार ६ सय पेट्रोल कार बिक्री हुँदा ४ हजार यूनिट ईभी बिक्री भयो । बजारमा नयाँ कार बढ्नुको मतलव चाँडै रिकन्डिसनमा ठूलो परिमाणमा कार आउँछ भन्ने नै हो ।
कस्तो छ अवस्था
रिकन्डिसन ब्यवसायमा रहेका ब्यवसायीले पुराना गाडी खरिद नगर्ने हो भने कसरी पुराना ईभीको बिक्री सम्भव होला त भन्ने प्रश्न खडा हुन्छ । औषतमा नेपालीले ५ वर्षमा आफ्नो कार फेर्ने गरेको आँकडा रिकन्डिसन हाउसहरुले निकालेका छन् । यस्तोमा ईभी पनि त्यहि अवधिमा आउने हो भने आगामी वर्ष राम्रै संख्यामा ईभी रिकन्डिसन हाउसहरुमा आउने छन् ।
पेट्रोल कार दशकौंदेखि कारोबार हुँदै आएको कारण यसलाई चलाएर, गाडीको अवस्था नियालेर नै ब्यवसायीले मूल्य लगाउन् गरेका छन् । तर, ईभीमा मुख्य पार्टस्को रुपमा ब्याट्री, मोटर र ब्याट्री मेनेजमेन्ट सिस्टम प्रमुख पार्टस् हुन् । यी कुनै पनि पार्टस्को परिक्षण नाङ्गो आँखाले गर्न सकिदैन ।
रिकन्डिसन कार ब्यवसाय गर्दै आएको श्रेया अटोमोेवाइलका प्रबन्धक सचिन कुईँकेलका अनुसार दोस्रो बजारमा ईभीको खरिद बिक्री अहिलेसम्म हुन सकेको छैन ।
उनि भन्छन्, ‘प्रयोग समयको आधारमा धेरै मूल्य घट्ने भएकोले हामीले मूल्य तोक्न सकेका छैनौं । ब्याट्री हेल्थ, मोटरको अवस्था लगायत परिक्षण बीना ईभीको मूल्य तोक्न सकिदैन । त्यसैले तत्काल ब्यवसायीले यसमा लगानी गर्न सक्ने अवस्था छैन ।’
उनका अनुसार रिकन्डिसन हाउसहरुमा अहिलेसम्म पुरानो ईभी खरिद गर्ने ग्राहक नै आएका छैनन् । धेरै ग्राहक बिक्री गर्न आउन थालेका छन् । तर, खरिदकर्ता अहिलेसम्म आएका छैनन् ।
सिप्रदी अस्योर्डका जनरल म्यानेजर ध्रुव रेग्मीका अनुसार ईभी बिक्री गर्न ग्राहक नआएको बताउँछन् । सिप्रदीको स्वामित्वमा रहेको अस्योर्ड कम्पनीमा अहिलेसम्म टाटाका कुनै पनि बिक्री गर्न ग्राहक नआएको उनको भनाई छ ।
यदि कम्पनीले दिएको वारेन्टी अवधिमा ठ्याक्कै ब्याट्री परिवर्तन गर्नु परेको खण्डमा १५/२० लाख खर्च लाग्ने छ । यस्तोमा ब्याट्री हेल्थ चेक गरेर मात्रै ईभीको मूल्य तोक्न सकिने ब्यवसायीहरु बताउँछन् ।
‘एक दुई जना सोधपुछको लागि आउन थालेका छन् । तर, उनिहरु बिक्री गर्नेगरी आएका छैनन् । हामीले टाटाका गाडीमा वारेन्टी समेत ट्रान्सफर हुने किसिमले नयाँ मेकानीजम बनाउने काम अगाडि बढाएका छौं । मुल्याङ्कन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
अन्योलमा ब्यवसायी
पेट्रोलियम पदार्थबाट चल्ने गाडीको हकमा बजारमा स्थापित मान्यताले काम गर्ने भएको कारण किनबेच गर्न सहज छ । ब्यवसायीले नियुक्त गरेका मूल्याङ्कनकर्ताले चलाएर हेरेपछि इन्जिनको आयु लगायतका विषयमा एकिन गरी मूल्य तोक्छन् ।
अहिले नेपालमा ईभी बिक्री गर्ने कम्पनीहरुले ब्याट्रीमा ८ वर्ष वारेन्टी दिएका छन् । यदि कम्पनीले दिएको वारेन्टी अवधिमा ठ्याक्कै ब्याट्री परिवर्तन गर्नु परेको खण्डमा १५/२० लाख खर्च लाग्ने छ । यस्तोमा ब्याट्री हेल्थ चेक गरेर मात्रै ईभीको मूल्य तोक्न सकिने ब्यवसायीहरु बताउँछन् ।
केहि समय अगाडि हुन्डाई मोटर्सले आफ्नो पुरानो कोना ईभी न्यूनतम मूल्यङ्कन तोकेर एक्स्चेन्ज अफर लगाएको थियो । त्यसमा ४ वर्ष पुरानो कोनालाई न्यूनतम मूल्य ४० लाख रुपैयाँ दिएको थियो । तर, यसरी पुरानो गाडी बिक्री गरेपछि हुन्डाई कै नयाँ ईभी किन्नु पर्ने सर्त कम्पनीले राखेको थियो ।
यदि, तपाईले पुरानो इलेक्ट्रीक गाडी बिक्री गरेर नगद निकाल्ने योजना बनाउनु भएको छ भने तत्काल सेकेन्ड ह्याण्ड बजारमा सम्भव छैन । बजारमा जुन हिसावले गाडीको संख्या बढेको छ त्यसलाई आधार मान्दा ईभीको सेकेन्ड ह्याण्ड कारोबार पनि भोलिको दिनमा आयातकर्ता कम्पनीले नै सुरु गर्ने देखिन्छ । तत्काल ईभी बिक्री गर्नु परेको खण्डमा आफ्ना साथीभाई वा स्टमित्रलाई बिक्री गर्नुको विकल्प छैन ।

