काठमाडौं । विश्वभर विद्युतीय कारको उत्पादन तीव्र गतिमा बढेको छ । क्लिन इनर्जीको प्रयोग बढाउन र बढ्दो ईभीको मागलाई मध्येनजर गर्दै उत्पादकहरूले धमाधम आफ्नो उत्पादन बढाउन थालेका हुन् ।
विश्व बजारमा ईभीको उत्पादन बढेसँगै मूल्य घट्न सुरू भएको छ । सन् २०२३ को ७ महिना (जुलाईसम्म)मा विश्वभर ४१ लाख प्योर इलेक्ट्रीक र १७ लाख प्लगइन हाइब्रिड कार बिक्री भएसँगै मूल्य कटौती सुरू भएको हो ।
अर्थशास्त्रको सामान्य सिद्धान्त नै उत्पादन बढेसँगै लागत घट्ने र सप्लाई बढेसँगै मूल्य घट्ने भन्ने हो । यो सिद्धान्त अब ईभीको हकमा पनि लागू हुन थालेको छ । टेस्लाले आफ्नो उत्पादन क्षमता झण्डै दोब्बर बनाएसँगै विश्वव्यापी मूल्य कटौतीको नीति लियो । उसले २०२३ जनवरीदेखि अगस्टसम्म आइपुग्दा ३ पटक मूल्य कटौती गरिसकेको छ ।
टेस्लाले मूल्य कटौती सुरू गरेसँगै विश्वका सबै ठूला ईभी निर्माताले मूल्य घटाएका छन् । जसमा बीवाइडी, एनआइओ, एलआई अटो, निसान, टोयोटा, बीएमडब्लूदेखि फोर्डसम्मले मूल्य घटाएका हुन् । यसले ग्राहकलाई फाइदा पुग्न थालेको छ भने कम्पनीहरूको बिक्रीमा राम्रै उछाल आएको छ ।
यसअघि सन् २०१८ देखि नै प्रकाशित विभिन्न रिपोर्टले सन् २०२३ सम्म लिथियम आयोन ब्याट्रीको मूल्य प्रतिकिलोवाट १५० डलर हाराहारी पर्ने आँकलन गरिएको थियो । अहिले ठ्याक्कै अवस्था पनि त्यही छ । चिनियाँ उत्पादकले आफ्ना ईभीको मूल्य झण्डै ८० प्रतिशतले कटौती गर्न सक्षम भएका छन् । तर, यूरोपियन र अमेरिकी अधिकांश ब्राण्डहरूले उत्पादन लागत घटाउन सकेका छैनन् ।
अहिले भइरहेका नयाँ टेक्नोलोजीका ब्याट्रीहरू सफल भएको खण्डमा सन् २०३० पुग्दा ईभीको उत्पादन लागत पेट्रोलियम पदार्थबाट चल्ने कारको हाराहारी नै पुग्ने देखिन्छ ।
केही महिना अघि फोर्ड मोटर्सका चेयरम्यान विल फोर्डले चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था आएको ब्लूमवर्गसँगको अन्तर्वार्तामा बताएका थिए । यसले अमेरिकी उत्पादकहरू मूल्य घटाउन प्रयासरत भए पनि तत्काल सम्भव नभएको पुष्टि गर्छ ।
यस्तो छ सन् २०२८ सम्मको प्रक्षेपण
आउटलुकले गरेको एक अध्ययन अनुसार सन् २०२८ सम्ममा विश्वभर ईभीको बिक्री १ करोड ७१ लाख यूनिट पुग्नेछ । यो अध्ययनका अनुसार सन् २०२३ मा न्यू इनर्जी भेहिकलको बिक्री १ करोड ६ लाख पुग्ने छ । जसमा २९ लाख प्लगइन हाइब्रिड र ७७ लाख ब्याट्री इलेक्ट्रीक भेहिकल हुनेछ ।
सन् २०२४ मा विश्वभर १ करोड १८ लाख यूनिट न्यू इनर्जी भेहिकल बिक्री हुनेछ । त्यसमा ३२ लाख प्लगइन हाइब्रिड र ८६ लाख ब्याट्री इलेक्ट्रीक गाडी हुनेछन् ।
त्यसैगरी सन् २०२५ मा १ करोड ३० लाख न्यू इनर्जी भेहिकल बिक्री हुँदा २०२६ मा १ करोड ४१ लाख र २०२७ मा १ करोड ५४ लाख यूनिट विद्युतीय साधन बिक्री हुनेछन् । सन् २०२८ ईभीको लागि एउटा नयाँ बेन्चमार्क बन्नेछ । त्यति बेला १ करोड ७१ लाख यूनिट विद्युतीय कार बिक्री हुने छन् ।
अबको ५ वर्षमा अधिकांश स्टार्टअप कम्पनीले ठूलो ब्राण्डको स्वरुप ग्रहण गर्नेछन् भने आफूलाई दरिलो रूपमा प्रस्तुत गर्न नसक्ने ब्राण्डहरू बैंकरप्सीमा पर्नेछन् । यसले अहिलेका ठूला अटो जाइन्टलाई पनि डुबाउन सक्ने संकेतहरू देखिएका छन् ।
मूल्य घट्ने निश्चित
अहिले पेट्रोल कारको तुलनामा ईभीको मूल्य चीनमा झण्डै दोब्बर छ । अन्य देशमा दुई गुणाभन्दा माथि छ । कुनै समय ईभीको उत्पादन लागत कम्बस्चनको तुलनामा तीन गुणा धेरै थियो ।
अहिले वार्षिक १ करोड यूनिटभन्दा कम ईभी उत्पादन हुनु र २०२८ मा झण्डै १ करोड ५० लाख यूनिट ईभी उत्पादन हुनु भनेको उत्पादन राम्रो संख्यामा बढ्नु हो । यसले मूल्य कटौतीमा सहयोग गर्नेछ ।
ईभीको मुख्य कम्पोनेन्ट मानिने ब्याट्री, मोटर र म्यानेजमेन्ट सिस्टमको मूल्य निरन्तर कम गर्न कम्पनीहरू सफल भएका छन् । यसले लागत घट्ने पक्का जस्तै छ ।
अहिले भइरहेका नयाँ टेक्नोलोजीका ब्याट्रीहरू सफल भएको खण्डमा सन् २०३० पुग्दा ईभीको उत्पादन लागत पेट्रोलियम पदार्थबाट चल्ने कारको हाराहारी नै पुग्ने देखिन्छ ।
सन् २०२३ मा विश्वभरका ईभी उत्पादकले ५६१.३ विलियन डलर बराबरको बिक्री गर्ने आँकडा अगाडि आएको छ । सन् २०२८ सम्ममा यस्तो बिक्री ९०६.७ विलियन डलर पुग्ने देखिन्छ ।
नेपालमा अहिल्यै किन्ने कि कुर्ने ?
नेपालमा ईभी अहिल्यै किन्दा फाइदा हुने देखिन्छ । अहिले सरकारले करमा ठूलो रकम छुट दिएको कारण ईभी किन्न उपयुक्त मानिन्छ । सरकारसँग आम्दानीको अन्य स्रोत खुम्चदै गएको अवस्थामा कर बढाउँदै लाने निश्चित छ ।
त्यसैले अहिले कर कम भएको बखतमा ईभी किन्दा धेरै फाइदा हुन सक्छ । तर, ईभीमा आउने परिष्कृत टेक्नोलोजी भने छुट्न सक्ने देखिन्छ ।

