निसान आरिया चाँडै आउने संकेत

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसानको इलेक्ट्रीक एसयूभी आरिया चाँडै नेपाल आउने संकेत देखिएको छ । निसान इन्डियाले भारतमा आरियाको परीक्षण सुरु गरेसँगै चाँडै आउने संकेत मिलेको हो ।

निसानले यसअघि लिफ ईभी पनि नेपाल, भुटान र भारतमा एकसाथ सार्वजनिक गरेको थियो । रेनो–निसान एलायन्सले भारतमा थप ५ हजार ३०० करोड लगानी गर्ने प्रतिवद्धता सार्वजनिक भएसँगै आरियाको परीक्षण सुरु भएको हो ।

रेनो–निसानले भारतमा पेट्रोलियम पदार्थबाट चल्ने, हाइब्रिड र इलेक्ट्रीक कारहरु उत्पादन गर्ने जनाएको छ । अहिले रेनो–निसानले कम मूल्यका कार सेग्मेन्टमा मात्रै प्रतिस्पर्धा गर्दै आएका छन् ।

नयाँ लगानीसँगै रेनो–निसान समूहले भारतमा प्रिमियम कारहरु सार्वजनिक गर्ने भएको छ । निसानले जुकी, क्वायस्की र एक्स–ट्रयाल भारत ल्याउने जनाएको थियो । तर, निसानले भारतीय बजारमा दोस्रो चरणको इन्ट्रीका लागि निसान आरिया ईभी छनौट गरेको हो ।

निसान आरिया अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको एसयूभी हो । नेपालमा पनि जापानी उत्पादन चाहने ग्राहकले आरिया कुरिरहेका छन् । आरियाको लम्बाई ४५९५ एमएम, चौडाई १८५० एमएम, उचाई १६६५ एमएम र ह्वीलवेस २७७५ एमएम छ ।

निसान आरियामा ६५ किलोवाट आवरको ब्याट्री प्याक छ । यसमा सिंगल मोटर भएको भेरियन्ट र ड्यूल मोटरसहितको अलह्वील ड्राइभ भेरियन्ट पाउन सकिन्छ ।

रियर ह्वील ड्राइभ सिस्टम सहितको १६० किलोवाटको मोटर स्टायडर्ड भेरियन्टमा छ ।

अलह्वील ड्राइभ भेरियन्टमा भने २५० किलोवाट क्षमताको मोटर छ । यसले ५६० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसको माथिल्लो भेरियन्टमा ९० किलोवाट आवरको ब्याट्री रहेको छ । यसले सिंगल चार्जमा ब्याट्री र मोटर साइज अनुसार ३६० देखि ५०० किलोमिटरसम्म रेन्ज प्रदान गर्नेछ ।


Back_to_top