अर्को साता भृकुटीमण्डपमा बिक्री सुरु हुँदै १२ भन्दा धेरै नयाँ मोडलका कार

काठमाडौं । नाडा अटो शो २०२३ अर्को साताबाट सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो शोमा विभिन्न १६ ब्राण्डले चार पाङ्ग्रे सवारीसाधन प्रदर्शनी गर्नेछन् ।

यस पटकको अटो शोमा पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा इलेक्ट्रीक कारहरु धेरै प्रदर्शनीमा रहने भएका हुन् । यस पटक टाटा, एमजी, बीवाइडी, सेरेस, जी ईभी र कियाले नयाँ इलेक्ट्रीक कार प्रदर्शनी गर्दैछन् । त्यसमा पनि एमजी र सेरेसले एकैपटक दुई ईभी बजारमा ल्याउन लागेका हुन् ।

एमजीले एमजी-४ र कोमेट ईभी बिक्री सुरु गर्नेछ । यी दुबै ईभी मूल्य र फिचरको हिसावले बजारले खोजे जस्तै हुने अनुमान गरिएको छ । एमजी-४ स्पोर्टी ह्याचव्याक मोडल हो भने, कोमेट मिनी कार हो । मूल्यको हिसावले २०/२२ लाख रुपैयाँदेखि नै एमजीका ईभी अटो शोमा उपलब्ध हुनेछ ।

अटो शोबाटै नेपालमा आफ्नो उत्पादन बिक्री सुरु गर्न लागेको सेरेस ब्राण्डले पनि दुई ईभी एक साथ सार्वजनिक गर्दैछ । कम्पनीले सेरेस-३ र ई-१ गरी दुई मोडल प्रदर्शनी गर्न लागेको हो । सेरेसले पनि १३ लाखदेखि नै ईभी उपलब्ध गराउने तयारी गरिरहेको छ ।

टाटाको बहुप्रतिक्षित टियागो ईभी अटो शोमा प्रदर्शनी हुने भएको छ । सिप्रदी ट्रेडिङले नयाँ इलेक्ट्रीक टियागोको नेपालमा बिज्ञापनसमेत सुरु गरिसकेको छ । मूल्यको हिसावले २२ लाखदेखि ३० लाख भित्रै रहने टियागो फ्यामली ह्याचव्याक कार हो ।

त्यसैगरी बीवाइडीले डल्फीन ह्याचव्याक कार अटो शोमा देखाउने छ । कम्पनीले यसलाई करिब २ महिना अघि नै नेपाल ल्याएको थियो । अहिलेसम्म यसको विविध पक्षको परिक्षण भइरहेको डल्फीन सम्भवत ४२ लाख हाराहारी मूल्य राखेर बिक्री सुरु हुनेछ ।

जी ईभीले पनि नयाँ इलेक्ट्रीक एसयूभी नेपालमा बिक्री सुरु गर्दैछ । कम्पनीले बिक्री सुरु गर्ने ब्राण्डको नाम आधिकारीक रुपमा घोषणा नभएपनि अटो शोमा प्रदर्शनी हुने निश्चित भइसकेको छ । कम्पनीले ल्याउने नयाँ इलेक्ट्रीक एसयूभी नेपालमै सर्वाधिक रेन्ज भएको मोडल बन्ने कम्पनीको भनाइ छ ।

सिजी मोटरले नाडा अटो शोमा नेटा यु प्रदर्शनी गर्ने भएको छ । कम्पनीले अटो शोमा शोकेस गरेपनि नेटा यूको बिक्री भने तत्काल सुरु गर्ने छैन ।

किया मोटर्सको ईभी-६ पनि अटो शोबाटै बिक्री सुरु हुँदैछ । यो अटो शोमा उपलब्ध सबैभन्दा महंगो इलेक्ट्रीक कार हुनेछ ।

यी इलेक्ट्रीक कारको अलावा अन्य ब्राण्डले पनि इलेक्ट्रीक कार बिक्री सुरु नगरे पनि प्रदर्शनी भने गर्ने सम्भावना देखिन्छ । इलेक्ट्रीकको अलावा पेट्रोलियम पदार्थबाट चल्ने केही नयाँ मोडल पनि अटो शोबाट बिक्री सुरु गर्दैछन् ।

हुन्डाई एक्सटर र टाटा पन्च माइक्रो एसयूभी सेग्मेन्टमा उपलब्ध हुनेछन् । पेट्रोलबाट चल्ने सानो एसयूभी खोज्नेलाई यी मोडल उत्कृष्ट विकल्प हुन सक्नेछन् । आफ्नो सेग्मेन्टमा दुबै मोडलले भारतमा दमदार ब्यापार गर्न सफल भएका हुन् ।

स्कर्पियो क्लासिक, निसान म्याग्नाइट अटोमेटीक, सिट्रोन इलेक्ट्रीक सि-३ जस्ता मोडल पनि अटो शोको लागि नयाँ मोडल हुन् ।


Back_to_top