काठमाडौं । जर्मनी लग्जरी ब्राण्ड मर्सिडिजले नयाँ इलेक्ट्रीक कार ‘सीएलए क्लास’को कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले जर्मनीमा चलिरहेको ‘म्युनिख अटो शो २०२३’ मा सार्वजनिक गरेको हो ।
सीएलए क्लास कन्सेप्ट कार मर्सिडिज बेन्जको ‘मोडुलर आर्किटेक्चर’मा आधारित रहेको छ । यसमा कम्पनीले गतवर्ष देखाएको ‘भिजन इक्यूएक्स’ कन्सेप्टकै पावरट्रेन प्रयोग गरिएको बताइन्छ ।

नयाँ कन्सेप्ट कार मर्सिडिजको लग्जरी सेग्मेन्ट ‘अल न्यू लाइन अप’ मोडल हो । यसमा नयाँ एक्टेरियर र इन्टेरियर डिजाइन फिलोसोफी प्रयोग भएको छ । यही मोडलबाट नयाँ अपरेटीङ सिस्टम समेत मर्सिडिजले सुरु गर्दैछ ।
कम्पनीको ‘एमएमए प्लेटफर्म’मा आधारित यसको प्रोडक्सन भर्सन भने सन् २०२५ मा बजारमा आउने अनुमान गरिएको छ । मर्सिडिजले यसको प्रोडक्सन भर्सन केही परिमार्जन गरेर आउने सक्ने बताएको छ ।

मर्सिडिजले यसलाई ८०० भोल्ट आर्किटेक्चरमा तयार गर्ने छ । साथै, ‘नेक्स्ट जेनेरेशन इलेक्ट्रीक ड्राइभ टेक्नलोजी’मा आउने भएको कारण यसले १०० किलोमिटर यात्रा गर्दा केबल १२ किलोवाट आवर मात्रै इनर्जी खर्च गर्नेछ । यसले सिंगल चार्जमा ७५० किलोमिटर रेन्ज दिने बताइएको छ ।

यसलाई २५० किलोवाटको डीसी फास्ट चार्जरले १५ मिनेट चार्ज गर्दा ४०० किलोमिटर गुड्न पुग्ने रिचार्ज हुन्छ । कम्पनीले यसमा सिलीकन अक्साइड ब्याट्री र रेगुलर लिथियम ओयान फस्फेट ब्याट्री अफर गर्नेछ ।

कम्पनीले यसलाई अल ह्वील ड्राइभ र रियर ह्वील ड्राइभ अप्सनमा ल्याउने छ । धेरै स्थानमा एलइडी लाइट, फ्रेम बिनाकै ढोका यसमा पाउन सकिन्छ ।
नयाँ कन्सेप्ट कारको छत पुरै सिसाबाट बनेको छ । झट्ट हेर्दा यो कार एउटा ‘स्लीक ग्लास हाउस’को झल्को दिनेखालको छ ।



