काठमाडौं । नाडा अटो शोमा प्रदर्शनी भएको बीवाइडी डल्फीनले निकै राम्रो बिक्री पाइरहेको छ । अहिले अटो शो कै सबैभन्दा ब्यस्त मध्येको एक स्टल बीवाइडीको हो । त्यसमा पनि डल्फीन हेर्न र किन्न चाहने धेरै मानिस अटो शो पुगेको भेटिन्छन् ।
‘डल्फीन अटो शोमा छ भनेर भक्तपुरबाट हेर्न आए । मलाई गाडी चित्त बुझ्यो । अब शोरुममा गएर बुकिङ गर्ने योजना बनाएको छु’, भक्तपुर बोडेका टंक खड्काले मेरोअटोसँग भने ।
खड्का जस्तै बीवाइडीको स्टलमा पुगेर गाडी हेर्ने र पछि बुकिङ गर्छु भन्ने धेरै मानिस आएको त्यहाँ गाडी बुझाउन बसेका सेल्स टीमको भनाइ छ ।
‘हामीले सोचेभन्दा राम्रो बुकिङ पाएका छौं । प्रिमियम ह्याचव्याक सेग्मेन्टमा आएको डल्फीनसँग दुई दिनमा नै धेरै मानिस आकर्षित भएको पायौं’, साइमेक्स इंकका मार्केटिङ हेड समिर श्रेष्ठले भने ।

साइमेक्स इंकले नाडा अटो शोमा बीवाइडीको डल्फीन र एटो–३ मात्रै प्रदर्शनी गरेको छ ।
यस्तो छ डल्फीन
ह्याचव्याक सेग्मेन्टमा आएको बीवाइडी डल्फीनमा ४४.९ किलोवाट आवर ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

कम्पनीले यसमा ७० किलावाट क्षमताको मोटर जडान गरेको छ । लम्बाई ४२९० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको डल्फीन निकै प्रिमियम देखिन्छ ।
यसमा १६ इन्चको अलोय ह्वील पाउन सकिन्छ । निकै स्टाइलिस डिजाइनमा तयार भएको डल्फीनले ६० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । घरमै चार्जगर्न भने ७ किलोवाटसम्मको एसी चार्जर प्रयोग गर्न सकिन्छ ।
कम्पनीले यसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ कायम गरेर बिक्री सुरु गरेको हो ।


