काठमाडौं । विद्युतीय र इन्टरनल कम्बस्चन इन्जिन भएका सवारीसाधन बीचको खाडल बढ्दै गएको छ । पहिलो महिना केही कम आयात भएको विद्युतीय साधन भदौमा निकै बढेको छ ।
भदौ महिनामा ७८८ यूनिट बिद्युतीय कार आयात भएसँगै इन्टरनल कम्बस्चन भएका गाडीलाई ईभी आयातले पछाडि छाडेको हो । निजी कारको रुपमा प्रयोग हुने ईभी र पेट्रोलियम पदार्थबाट चल्ने गरेर चालु आर्थिक वर्षको दुई महिनामा १ हजार ५८८ यूनिट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार साउन र भदौ महिनामा ८९८ यूनिट विद्युतीय कार आयात हुँदा ६९० यूनिट पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयात भएको देखिन्छ ।
इलेक्ट्रीक कारमा ५० देखि १०० किलोवाट क्षमतासम्मको मोटर भएका कारको आयात ६३१ यूनिट भएको छ । यो सेग्मेन्टमा बीवाइडी एटो-३, एमजी जेडएस ईभी, बीवाइडी डल्फीन, टाटा नेक्सन, हुन्डाई कोना, सेरेस, नेटा भी जस्ता मोडल उपलब्ध छन् ।
साथै, दोस्रो धेरै कार ५० किलोवाटभन्दा कम क्षमता भएका आएका छन् । अहिले ५० किलोवाटभन्दा कम क्षमताका एमजी कोमेट, विलिङ एयर मिनी, सेरेस ई-१, टाटा टिगोर, टाटा टियागो जस्ता मोडल छन् । यो सेग्मेन्टमा २५५ यूनिट ईभी आयात भएको देखिन्छ ।
पेट्रोल कार सेग्मेन्टमा सबैभन्दा धेरै १ हजार सीसी माथि र १५०० सीसीभन्दा तलको सेग्मेन्टमा आयात भएको छ । विभिन्न ब्राण्डले यो सेग्मेन्टमा ४२८ यूनिट गाडी आयात गर्दा दोस्रो धेरै डिजेल इन्जिन भएको १५०० सीसीदेखि २०० सीसी सेग्मेन्टमा छ ।
कुन देशबाट कति आयात ?
पेट्रोलबाट चल्ने अधिकांश कारहरु भारतबाट आयात भएका हुन् । त्यसबाहेक विद्युतबाट चल्ने गाडीको आयात भने चीनबाट धेरै भएको छ । विद्युतीय साधनमा चीनबाट ५७५ यूनिट कार आयात हुँदा भारतबाट ३१८ यूनिट आयात भएको छ । बाँकी ५ यूनिट अन्य देशबाट आयात भएकाे हाे ।
भारतबाट ५० किलोवाटभन्दा कम क्षमताका कार दुई महिनामा २४६ यूनिट आयात भएको छ भने ५० देखि १०० किलोवाट क्षमताको कार ७१ यूनिट मात्रै आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।


