काठमाडौं । सन् २०१९ मा नेपाल आएको एमजी जेडएस ईभी चीनमा उत्पादन भएको एसयूभी हो । बेलायती ब्राण्ड मोरिस ग्यारेजलाई चिनियाँ एसएआईसी ग्रुपले खरिद गरेपछि सन् २०१५ देखि एमजीका कार बजारमा आएका थिए ।
सन् २०१९ मा नेपाली बजारमा एमजीको पहिलो इलेक्ट्रीक कार आएको थियो । बजारमा बढ्दो पेट्रोल कारको माग र यस बीचमा आएको हुन्डाई कोना इलेक्ट्रीले पाएको सफलतालाई एमजीले सदुपयोग गर्ने रणनीति अनुसार जेडएस ईभी नेपाल ल्याएकाे थियो ।
नेपाल आएको छोटो समयमा नै सफलताको स्वाद चाखेको जेडएस ईभीमा ११५ किलोवाट क्षमताको मोटर र ४४ किलोवाट आवरको ब्याट्री थियो । सन् २०२१ मा यसको फेसलिफ्ट आयो । तर, नेपाल सरकारले १०० किलोवाट माथिको ईभीमा ब्यापक कर वृद्धि गरेपछि जेडएस ईभी नेपाल आएन ।
त्यसको करिब १ वर्षपछि गत बैंशाखमा जेडएस ईभी ९९ किलोवाटको मोटर र ५१ किलोवाट आवरको ब्याट्रीमा नेपाल आयो । पहिलेकै जस्तो फेसलिफ्ट मोडलले पनि निरन्तर सफलता पाईरहेको छ । मोटर पावर घटेर आएको भएपनि चलाउँदा त्यस्तो फिल नहुँनु, ब्याट्रीको साइज बढ्नु, पहिलेभन्दा धेरै रेन्ज पाउनु र एडास फिचरसमेत थप भएर आएको कारण यसले निरन्तर सफलता पाएको हो ।
आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले ५२ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर यसको बिक्री वितरण गर्दै आइरहेको छ ।


