सिजी मोटर्सले नेपाल ल्याउँदै एवोन-वाई

Aion Y

काठमाडौं । बीवाइडी डल्फीन प्रिमियम ह्याचव्याक सेग्मेन्टमा अहिले बजारको हटकेक मोडल हो । साइमेक्स इंकले ३९ लाख ८० हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेसँगै यसले निकै ठूलो चर्चा पाएको छ ।

झण्डै यस्तै मूल्य ४१ लाख ४९ हजार रुपैयाँ तोकेर पारामाउन्ट मोटर्सले एमजी-४ नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले बिक्री सुरु गरेको एमजी-४ ले निकै राम्रो प्रतिक्रिया पाइरहेको मोडल हो ।

यी दुबै कारको मुख्य खासियत भनेको प्रिमियम ह्याचव्याक सेग्मेन्टमा आएर पनि राम्रोसँग ग्राहकलाई आकर्षित गर्न सक्नु हो । यहि सेग्मेन्टमा ग्वान्झाओ अटोमोवाइल कर्पोरेशनको इलेक्ट्रीक ब्राण्ड एवोनको उत्पादन पनि नेपाल आउने भएको छ ।

जीएसीको आधिकारीक बिक्रेता सिजी मोटर्सले आफ्नो पहिलो मोडलकै रुपमा एवोन वाई ह्याचव्याक र ‘एवोन एस’ मोडल ल्याउने जनाएको छ । प्रिमियम ह्याचव्याक सेग्मेन्टमा बढ्दो बजार देखेसँगै कम्पनीले ‘एवोन वाई’ मोडल पनि चाँडै नेपाल ल्याउने भएको हो ।

यस्तो छ एवोन-वाई

तिब्र गतिमा बजार बिस्तार गरिरहेको जीएसी एवोन चीनमा बीवाइडी र टेस्लापछि सर्वाधिक ईभी बिक्री गर्ने ब्राण्ड बनिसकेको छ । कम्पनीले सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्ममा ३ लाख ५० हजार ९८६ यूनिट विद्युतीय कार बिक्री गरेको छ ।

कम्पनीको सर्वाधिक बिक्री हुने मोडल मध्ये एक एवोन-वाई नेपाल आएपछि यसले इलेक्ट्रीक ह्याचव्याकको बजारलाई थप रोचक बनाउने पक्का जस्तै देखिन्छ ।

यसको मूल्य पनि चीनमा डल्फीनकै बराबर रहेको छ । यसलाई १७ हजार २०० अमेरिकी डलर बराबर १ लाख १९ हजार ८०० यूआन मूल्य कायम गरेर बिक्री गर्दै आएको छ । नेपालमा पनि मूल्य समान जस्तै हुनेछ ।

यूवाहरुलाई केन्द्रमा राखेर तयार पारिएको एवोन वाईको लम्बाई ४४१० एमएम, चौडाई १८७० एमएम र उचाई १६४५ एमएम छ । यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसलाई कम्पनीले १८ र १९ इन्चको ह्वील अप्सनमा चीनमा बिक्री गर्दै आएको छ । चिनियाँ बजारमा उपलब्ध एवोन-वाईको ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको छ । नेपालमा कुन साइजको ग्राउन्ड क्लियरेन्समा आउँछ अहिल्यै भन्न सकिने अवस्था छैन ।

कम्पनीले यसमा १०.२५ इनचको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । कप होल्डर, वायरले चार्जर पनि यसमा पाउन सकिन्छ ।

जीएसी एवोन वाईमा ५१.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । यसलाई सिंगल चार्जमा ४३० किलोमिटर गुडाउन सकिन्छ । यसमा मोटर पनि १०० किलोवाटको छ । यसको पीकटर्क भने १७६ एनएम छ ।


Back_to_top